काठमाडौं— प्यालेस्टाइनी लडाकु समूह हमासले बन्धक बनाएका विपिन जोशीको खोजीमा आमा पदमा जोशी र बहिनी पुष्पा जोशी आज इजरायल गएका छन् ।
कञ्चनपुरका विपिन जोशीकी आमा र बहिनी फ्लाइ दुबईमार्फत उनीहरू अहिले बिहान ९ बजे त्यसतर्फ प्रस्थान गरेका हुन् ।
नेपालका लागि इजरायली दूतावासले नै उनीहरूका लागि टिकटको व्यवस्था गरिदिएको हो ।
कृषिका विद्यार्थी विपिन जोशी ‘सिक्दै कमाउँदै’ कार्यक्रमका लागि इजरायल गएका थिए । हमालसले इजरायलमा आक्रमण गरेपछि उनी २०८० असोज २० गतेदेखि सम्पर्कमा छैनन् । उनलाई हमासले बन्धक बनाएको भनिएको छ । उनीसँगै रहेका साथीहरुले पनि हमासले लिएर गएको बयान दिएका थिए ।
प्लालेस्टाइनी विद्रोही समूह हमासको कब्जामा रहेको भनिएका जोशीको अवस्थाका बारेमा अहिलेसम्म कुनै जानकारी बाहिर आएको छैन ।
लामो समयसम्म पनि विपिन रिहा नभएपछि संयुक्त राष्ट्रसंघमार्फत पहल गर्न लागिएको छ । त्यसकै लागि उनीहरु इजरायल जान लागेका हुन् । इजरायलले नै विपिनको परिवारलाई संयुक्त राष्ट्र संघमा पुर्याएर दबाब बढाउने रणनीति लिएको हो ।