रौतहट— रौतहटको गुजरा नगरपालिकामा सामाजिक सुरक्षा तथा बालपोषण भत्ता वितरणमा चरम लापरबाही भएको भन्दै नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ। लामो समयदेखि लाभग्राहीले पाउनुपर्ने भत्ता नपाउँदा असन्तुष्ट बनेका स्थानीयले आइतबार नगरपालिकाको मूलढोकामा तालाबन्दी गरेका हुन्।

नगरपालिकाको सिमरा भवानीपुरस्थित एनआईसी एशिया बैंकले करिब एक वर्षदेखि बालपोषण भत्ता वितरण नगरेको भन्दै स्थानीयहरू आक्रोशित बनेका छन्। बैंकले गत असार ११ गते खातामा जम्मा गरिएको सामाजिक सुरक्षा भत्तासमेत वितरण नगरेपछि उनीहरूको दैनिकी प्रभावित बनेको छ।

ज्येष्ठ नागरिकहरूले पनि भत्ता नपाएको गुनासो गर्दै कार्यालयमै तालाबन्दी गरेका छन्। गुजरा नगरपालिकाको तथ्यांकअनुसार, ३ हजार ३ सय ज्येष्ठ नागरिक र ५ हजार ४ सय बालबालिकाले सामाजिक सुरक्षा तथा पोषण भत्ता पाउनु पर्ने हो।

असार ११ गते नै ज्येष्ठ नागरिकका लागि ५ करोड र बालपोषणका लागि ९४ लाख रुपैयाँ बैंक खातामा जम्मा गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदय नारायण देवकोटा जानकारी दिए । भत्ता वितरणमा ढिलासुस्ती भएको प्रति उनले चिन्ता व्यक्त गरे।

यसरी लामो समयसम्म रकम वितरण नगरिनुमा बैंक कर्मचारीहरूको भूमिका शंकास्पद रहेको स्थानीयको आरोप छ। लाभग्राहीहरूले जम्मा भएको रकम बैंक कर्मचारीहरूले चलाएको हुनसक्ने आशंका व्यक्त गरेका छन्।

एनआईसी एशिया बैंकका शाखा प्रबन्धक सदेउ प्रवेजले भने भत्ता वितरण ढिलो हुनुको कारण ‘तालिका प्रकाशनमा भएको ढिलाइ’ भएको बताए। तर स्थानीयहरू भने यस्तो स्पष्टीकरणबाट असन्तुष्ट देखिएका छन्।