कैलाली— कैलाली कारागारमा केही दिनअघि भएको झडपमा घाइते भएका अर्को एक कैदीलाई पनि उपचारका लागि बाहिर पठाउने तयारी भइरहेको छ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार, ती कैदीको नसामा समस्या देखिएको छ। उनलाई काठमाडौं वा नेपालगञ्जमध्ये एक ठाउँमा रेफर गर्नेबारे छलफल भइरहेको छ। अहिले ती कैदी सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचार गराइरहेका छन्।
जोशीले ती कैदीलाई हेलिकप्टर होइन, सामान्य जहाजबाट पठाइने जानकारी पनि दिए। यसअघि गम्भीर घाइते भएका एक कैदीलाई नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं ल्याइएको थियो।
झडपपछि कैदीहरूको संख्या यकिन गर्न आइतबारबाट गन्न थालिएको छ। कारागार प्रमुख बनेको भोलिपल्टै जेलर जालन्धर भुसालले सबै कैदीहरूलाई बोलाएर गणना सुरु गरेका हुन्।
शुक्रबार राति भएको झडपमा एक जना कैदीको मृत्यु भएको थियो भने ४९ जना घाइते भएका थिए।
कैदीहरूले आफैंले ताला लगाएर थुनुवा कक्ष नियन्त्रणमा लिएका कारण प्रहरी पनि भित्र जान सकेका छैनन्। आफन्तहरू कारागारमा आएर जानकारी लिने प्रयास गरिरहेका छन्।
कैलाली कारागारमा १५० जनाको क्षमता भए पनि अहिले झन्डै ७ सय जना कैदी राखिएका छन्। क्षमताभन्दा धेरै कैदी हुँदा बारम्बार तनाव हुने गरेको बताइएको छ।