काठमाडौं— मिर्गौला बेचबिखनमा परेका पाँच जना पीडित अहिले सम्म प्रहरी सम्पर्कमा आएका छन्। पछिल्लो पटक काभ्रे र नुवाकोटका दुई जना युवा शुक्रबार मानव बेचबिखन विरुद्धको ब्युरोमा पुगेका हुन्।
यसअघि सिन्धुलीका एक जना युवा प्रहरीसँग सम्पर्कमा आएका थिए। अब सोमबार थप दुई जना जाहेरी दिन आउने तयारीमा रहेको प्रहरी उपनिरीक्षक कृष्ण प्रसाद पंगेनीले जानकारी दिएका छन्।
प्रहरीका अनुसार पीडितहरूमध्ये दुई जनालाई मिर्गौला बेचेको पैसा एक रुपैयाँ पनि दिइएन। अरूलाई थोरै पैसा दिएर बाँकी पैसा नदिएको बताएका छन्।
केही दिन अघि पीडितहरू प्रहरीमा आएपछि अनुसन्धान सुरु गरिएको थियो। त्यसपछि नुवाकोट र काभ्रेका चार जना व्यक्ति पक्राउ परेका छन्। तीमध्ये तीन जनाको नाम सार्वजनिक गरिएको छ । समिर परियार, नुवाकोटका राजेश परियार र काभ्रेका राजकुमार परियार संलग्न रहेका छन्। चौथो व्यक्तिको नाम भने अझै खुलाइएको छैन।
प्रहरीले यो गिरोहले अन्य धेरै जिल्लाका युवालाई पनि भारतको दिल्ली, चण्डीगढ, नोयडाजस्ता सहरमा लगेर मिर्गौला बेचेको पत्ता लगाएको छ। अहिलेसम्म ५० जना भन्दा धेरै मानिस यसरी पीडित भएका छन्।
गिरोहले गरिब परिवारका युवालाई ७ देखि ८ लाख दिने आश्वासन दिई मिर्गौला बेचाउने गरेको पाइएको छ। तर, पछि पैसा नदिएपछि धेरै युवाहरू ठगिएको खुलेको हो।