काठमाडौं— पशुपति आर्यघाटमा दाहसंस्कारका लागि राखिएको शवको हड्डी र मासु बिक्री गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पनेमा गणेश ढकाल र उनका एक सहयोगी रहेका छन् ।

काभ्रेका स्थायी निवासी रामबहादुर शाहीको शवलाई शुक्रबार आर्यघाटमा जलाउँदै गर्दा उक्त घटना भएको महानगरीय प्रहरी वृत्त, गौशालाले जनाएको छ।

मृतकका परिवारजनले आरोपीहरूलाई रंगेहात पक्राउ गरी प्रहरीलाई खबर गरेका थिए। घाटमा शव जलाउने काम गर्ने ढकालले आफ्ना सहयोगीलाई शाहीको जलिरहेको शवबाट निकालिएको मासु र हड्डी प्याक गर्न लगाइरहेको अवस्थामा मृतकका आफन्तले देखेपछि गौशाला प्रहरी वृत्तमा खबर आएको गौशाला प्रहरी वृत्तका सूचना अधिकारी, प्रहरी नायब निरीक्षक सुकदेव खनालले जानकारी दिए ।

सोही क्रममा मृतकका परिवार र आरोपीहरूबीच विवाद र भनाभन भएको थियो। तत्कालै परिवारले गौशाला प्रहरीलाई घटनाबारे जानकारी गराएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। पछि, मृतकका परिवारले आरोपीहरूविरुद्ध औपचारिक जाहेरी दिएका थिए।

मानव शवको अंग चोरी वा बिक्री गर्ने विषयमा नेपालको कानुनमा स्पष्ट व्यवस्था नभएकाले प्रहरीलाई कारबाही अघि बढाउन कानुनी जटिलता देखिएको छ। यद्यपि, प्रहरीले उनीहरूलाई ‘अभद्र व्यवहार’ सम्बन्धी कसुरमा मुद्दा चलाइएको छ। यस कार्यका लागि विशेष कानुनको अभावमा यस्तो बाटो अपनाउनु परेको प्रहरीको भनाइ छ।