काठमाडौँ – पशुपति आर्यघाटमा शव दहन गर्ने क्रममा शवबाट मांसपदार्थ र हड्डीको चोरी हुने गरेको अनौठो घटना सार्वजनिक भएसँगै प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीको प्रारम्भिक अनुमान छ- शवबाट मासु र हड्डी निकालेर मसान जगाउने अघोरी बाबालाई बेचिन्छ ।

मलामीले दिएको निवेदनका आधारमा शुक्रबार पशुपति आर्यघाटमा घाटे काम गर्ने गणेश ढकाललाई प्रहरीले शुक्रबार पक्राउ गरेको थियो । उनले अहिलेसम्म ठोस जजाफ दिएका छैनन् । काभ्रेको बनेपा- ९ का राम शाहीको शव अत्येष्टिका क्रममा शुक्रबार शव दहन भइसकेपछि एक टुक्रा मासु झिकेर अन्य व्यक्तिलाई रहस्यमय तवरले दिइएको भन्दै शाहीका मलामीले प्रहरीलाई खबर गरेका थिए ।


खबर पाउनासाथ प्रहरीले शुक्रबार नै उक्त शव दहन गर्ने घाटे ढकाललाई पक्राउ गरेर हिरासतमा राखेको हो । तर, उनले अहिलेसम्म कसलाई र किन उक्त मासुको टुक्रा दिएको भन्नेबारे केही नबताएको प्रहरी वृत्त, गौशालाका डीएसपी सुकदेव खनाल बताउँछन् । तर, आफूले मासु नभएर हड्डी झिकेको ढकालले बताएका छन् ।


मानिसको शवबाट मासु र हड्डी चोरी हुने घटनानै प्रहरीका लागि नयाँ हो । यसमा पक्राउ गरेका व्यक्तिलाई कुन कानुनअनुसार कारवाही र अनुसन्धान गर्ने भन्नेमै अन्यौलता रहेको प्रहरीले बताएको छ । डीएसपी खनालका अनुसार आइतबार अभद्र व्यवहारमा म्याद थप गरी घटनाबारे थप अनुसन्धान गरिने भएको छ । अनुसन्धानको निष्कर्षपछि कुन कानुनअनुसार कारबाही गर्ने भन्ने विषयमा कानुन व्यवसायी र सरकारी वकिलसँग सल्लाह गरिने उनले बताए।


घाटे गणेशले मृतक शाहीको शवबाट मासु झिकेर जोगीजस्तो देखिने व्यक्तिलाई पाँच सय रुपैयाँमा विक्री गरेको आरोप शाहीका मलामीले लगाएका छन् । त्यसमध्ये सय रूपैयाँ सहयोगीलाई र चार सय रुपैयाँ ढकाल आफैँले राखेको उनीहरुको आरोप छ । तर, ढकालले पैसा लिएको कुरा स्वीकार गरेका छैनन् ।

अघोरी बाबासँगको मिलेमतोको आशंका

दहन भइरहेको शवबाट अंग झिकेर अरुलाई दिने कुरा सामान्य नभएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका एआईजी चन्द्रकुवेर खापुङ बताउँछन् । यद्यपि, यस्तो घटनाको अनुसन्धान कुन विधि, कानुन र शैलीमा गर्ने भन्नेबारे अहिलेसम्म त्यस्तो कुनै योजना नबनेको उनले बताए ।

शुक्रबार पक्राउ परेका घाटेसँगको सोधपुछपछि अनुसन्धानरत एक प्रहरीका अनुसार त्यस्तो हुनुका पछाडि घाटे र अघोरी बाबाबीचको साँठगाँठ हुनसक्छ । कतिपय अघोरी बाबा मसान जगाउनका निम्ति मान्छेको हड्डी खेलाउने, रगत पिउने र मासु खाने हुन्छन् ।


जीवित मानवबाट रगत र मासु संकलन गर्ने कुरा सम्भव नहुँदा शवको मासु निकालिएको हुनसक्ने प्रहरीको अनुमान छ । मानिसको नलीखुट्टाको हड्डी खेलाएर मसान जगाउने अघोरी बाबाले शव दहनको काम गर्ने घाटेसँग मिलेमतो गरेको अनुमान अनुसन्धानरत ती प्रहरीले गरेका छन् ।