बर्दियाको खौराहा खोलामा पौडी खेल्ने क्रममा गोहीको आक्रमणपछि बेपत्ता भएका किशोरको शव पाँच दिनपछि फेला परेको छ।

बर्दिया राष्ट्रिय निकुञ्जको ठाकुरबाबा नगरपालिका–९ हात्तीसार नजिक मंगलबार दिउँसो मधुवन नगरपालिका–१ कैलाशीका १९ वर्षीय रुप मिलन थारुलाई पौडी खेल्ने क्रममा मगर गोहीले आक्रमण गरेको थियो ।

निकुञ्जका सूचना अधिकारी सरोजमणि पौडेलले थारुको शव अंगभंग भएको अवस्थामा शनिबार दिउँसो फेला परेको थियो।

शरीरका दुईवटा हात र एउटा खुट्टा नभएको अवस्थामा शव  फेला परेको वरिष्ठ सहायक संरक्षण अधिकृतसमेत रहेका पौडेलले बताए

'पाँच दिन पछि शव फेला परेको हो,’ उनले भने, ‘शरीरका अंगहरु क्षतबिक्षत अवस्थामा फेला परेको छ।’

राष्ट्रिय निकुञ्जका दुई वटा हात्तीहरुको प्रयोग गरी नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयसमेत थारुलाई गोहीले आक्रमण गरी बेपत्ता पारेको दिनदेखि नै निरन्तर खोजी गर्दै आएका थिए।

खोजी गर्ने क्रममा घटनास्थलदेखि झन्डै साढे २ किलोमिटर दक्षिणमा थारुको शव फेला परेको हो।

थारु अरु दुई जना साथीहरुसँगै गत मंगलबार हात्तीसार नजिकको खोलामा पौडी खेल्न गएको समयमा मगर गोहीले आक्रमण गरेको अन्य साथीहरुले प्रत्यक्ष देखेका थिए।


थारुको शव पोस्टमर्टम पछि अस्पताल लगिएको छ।