काठमाडौं –  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपा विभाजन गर्ने तागत कसैसँग नरहेको बताएका छन् । राप्रपाभित्र हाल देखिएको विवादले पार्टी विभाजन नहुने उनले स्पष्ट पारे ।


उनले राप्रपा अब कहिल्यै विभाजन नहुने जिकिर गरे । विगतमा चित्त नबुझ्नेबित्तिकै पार्टी फुटाइहाल्ने प्रवृत्ति रहेको र त्यसको केही अवशेष अझै भए पनि अब त्यो सम्भावना नरहेको उनको भनाइ छ ।


“यो पार्टीलाई मैले बारम्बार भनेको छु, विभाजन गर्ने कसैसँग तागत पनि छैन र विभाजन गर्नुपर्ने कुनै कारण पनि छैन । अब राप्रपा कहिल्यै विभाजित हुँदैन,” उनले भने, “म यति नै भन्छु, यो विषयचाहिँ हामी पार्टीमै बसेर टुंग्याउँछौँ ।”


उनले पार्टीमा देखिएका समस्या भित्रैबाट समाधान गरिने बताए । चित्त नबुझेका विषय पार्टीका समितिमा छलफल गरिने र त्यसबाट निस्किएको निष्कर्षलाई सबैले मानेर जानुपर्ने उनले उल्लेख गरे ।


पार्टीका समितिमा आफ्ना कुरा पारित हुन नसके, चित्त नबुझे महाधिवेशनमा गएर नेतृत्वमाथि नै चुनौती दिन सकिने उनले बताए । तर, पार्टीको आन्तरिक विषय सञ्चारमाध्यममा लैजाने, शुभेच्छुकमा भ्रम पार्नेजस्ता कार्य गर्न नहुनेमा उनले जोड दिए ।


“बाहिर जो आइरहेको छ, यसलाई चाहिँ हामी पार्टीभित्रै बसेर समाधान पनि गर्छाैं,” उनले भने ।


राप्रपाको प्रवक्ता, विभागको सदस्स्यसचिव, विभाग प्रमुख तोक्ने काम निर्वाचन आयोगको नभई अध्यक्षको भएको उनले बताए ।


राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको भनाइ पढ्नोस्–

यो पार्टीलाई मैले बारम्बार भनेको छु, विभाजन गर्ने कसैसँग तागत पनि छैन र विभाजन गर्नुपर्ने कुनै कारण पनि छैन । अब राप्रपा कहिल्यै विभाजित हुँदैन । अब राष्ट्रिय प्रजातन्त्र पार्टीमा यो लामो समयदेखि एउटा प्रवृत्ति थियो, जो चित्त नबुझ्नेबित्तिकै अर्को पार्टी खोलिहाल्ने, फुटाइहाल्ने त्यो चिज मेरो कार्यकालमा आएन र त्यो देखिने गरी केही भएको थिएन । तर, कहिलेकाहीँ त्यो प्रवृत्तिको अवशेष देखिने कोसिस गर्छ । तर, अब त्यो सम्भावना पनि छैन राप्रपामा । र, म यति नै भन्छु– यो विषयचाहिँ हामी पार्टीमै बसेर टुंग्याउँछौँ ।


बाहिर जो आइरहेको छ, यसलाई चाहिँ हामी पार्टीभित्रै बसेर समाधान पनि गर्छाैं । त्यो विवादका पार्टका रूपमा रहेका साथीहरूलाई पनि म आग्रह गर्छु । पार्टी भनेको समान विचारका मानिसहरूको अथवा विचार मिल्ने मानिसहरूको संगठित संस्था हो । त्यसमा केही अनुशासन हुन्छ, केही पद्धतिहरू हुन्छन् । कमिटी प्रणाली हुुन्छ । चित्त नबुझेका विषयहरू कमिटीमा छलफल गर्ने, छलफलपछि निस्किएको निष्कर्षलाई सबैले मानेर जाने, त्यसमा आफ्ना कुरा पारित हुन सकेन, अल्पमतमा परियो, चित्त बुझेन भने महाधिवेशनमा गएर टुंगो लगाउन सकिन्छ । नेतृत्वमाथि नै विश्वास भएन, नेतृत्वसँगै आफ्ना चित्त बुझेन भने नेतृत्वमाथि नै चुनौती दिने महाधिवेशनमा लाग्यो भने पनि पार्टीभित्र ती प्रक्रियाहरू खुला हुुन्छन् । तर, पार्टीको आन्तरिक विषयहरू सञ्चारमाध्यममा लैजाने, शुभेच्छुकहरूमा भ्रम पार्नेजस्ता कामहरू गर्न अनुपयुक्त हुन्छ । सदाझैँ हामी यो समस्यालाई समाधान गरेर लान्छौँ ।


यसमा मैले नयाँ काम गरेको होइन त्यो । म अध्यक्ष भईकनको पहिलो काम पनि होइन त्यो । नियमित रूपमा विभागहरूको हेरफेर गर्ने, जिम्मेवारी हेरफेर गर्ने कामहरू पहिले पनि भइराखेका हुन्थे । त्यहीक्रममा यसपटक पनि भएको थियो । योपटक विभागहरूको हेरफेर गर्दाखेरि एउटा व्यक्ति जसले चाहिँ अहिले कम्प्लेन गर्नुभयो, चित्त बुझाउनु भएन, उहाँको मात्रै होइन, धेरै मान्छेहरूको हेरफेर गरिएको थियो जिम्मेवारीबाट । पार्टीको विधानले नै अध्यक्षलाई दिएको सुविधा हो, विभिन्न समितिहरू गठन गर्ने, जिम्मेवारीहरू बाँडफाँट गर्ने, पदाधिकारीहरूलाई, सदस्यहरूलाई जिम्मेवारीहरू तोक्ने, परिचालित गर्ने अध्यक्षको जिम्मेवारी हो । त्योअनुसार नै गरेको कामहरू हो ।


नेपालजस्तो भूराजनितिक परिस्थिति भएको देशको लागि अभिभावकीय संस्थाको रूपमा राजसंस्था उपयुक्त हुन्छ भनेर हामीले निरन्तर रूपमा आवाज उठाइराखेका छौँ । अहिले पछिल्लो दिनमा जुन परिवेश बनिरहेको, बन्दै गएको छ, जनमत बन्दै गएको छ, त्यो सबैै पृष्ठभूमिमा अब राजसंस्था पुनर्स्थापनाचाहिँ निकटमा पुगेको छ भन्ने मलाई लाग्छ ।


राजसंस्था पुनर्स्थापना पक्षधर विभिन्न पार्टी संघसंस्थाहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टी मूल शक्ति हो भन्ने कुरामा कुनै विवाद छैन । राप्रपाले जहिले पनि यो समान–समान दृष्टिकोण राख्ने सबै शक्तिहरू एकठाउँ भएर नै अगाडि जानुपर्दछ भन्ने आफ्नो धाराणा राख्दै आएको छ । विगतको तुलनामा हामीले जेठ १५ गते जुन कार्यक्रम आयोजना गर्‍यौँ, त्यसले परिणाम त दिएन र कुनै एकैदिनको कुनै कार्यक्रमले सबै परिणाम ल्याउने भन्ने कुरा पनि हुँदैन । तर, त्यस बेला एउटा सकरात्मक सन्देश हामी प्रवाह गर्न सफल भयौँ । एउटा राम्रो सिलसिलाको प्रारम्भ भयो । राजसंस्था चाहिन्छ भन्ने सबै शक्तिहरू एकठाउँ उभिएरचाहिँ अगाडि बढ्यौँ । यसमा भएका कमी–कमजोरीहरूलाई सच्याएर आगामी दिनमा अगाडि जान सकिन्छ भन्ने प्रस्ट भएको छ ।


अध्यक्षले मनोनीत गर्न पाउने जति पदहरू छ, त्यो हामीले परम्परागत रूपमा नै परिवर्तन गर्दै आइराखेको हो । विभागको प्रमुख तोक्ने, विभागको सदस्यसचिव तोक्ने, सदस्य तोक्ने भनेको अध्यक्षले नै हाम्रो पार्टीमा चाहिँ व्यवस्था छ । त्यही हामीले पहिलेदेखि गर्दै आएका छौँ । कसैलाई पार्टीबाट निकालिएको होइन, कारबाही गरिएको होइन ।


निर्वाचन आयोगको कार्यक्षेत्र नै होइन, राप्रपाको प्रवक्ता को हुनुपर्छ, विभागको सदस्स्यसचिव को हुनुपर्छ, विभाग प्रमुख को हुनुपर्छ भन्ने कुरा निर्वाचन आयोगको काम नै होइन ।