बैतडी— उचित मूल्य नपाएपछि बैतडीको पाटन नगरपालिका–७ का किसान हर्क बहादुर चन्दले डडेल्धुरा बसपार्कमा करिब दुई कट्टा खुर्सानी सडकमा फालेका छन्। बिहीबार बिहान चन्दले स्थानीय बजारमा आफ्नो उत्पादनको उचित मूल्य नपाएको भन्दै आक्रोशमा आएर खुर्सानी सडकमा फालेका हुन्।
उनका अनुसार महिनौं लगाएर उत्पादन गरेको खुर्सानी व्यापारीहरूले न्यून मूल्यमा लिन खोजेपछि उनले यस्तो कदम चाल्न बाध्य भएका हुन्।
'हामी किसानहरूले दुःख गरेर उत्पादन गर्दा पनि बजारमा मूल्य नपाउँदा मन कुँडिन्छ,'चन्दले भने, 'हामीले लागत पनि उठाउन सक्दैनौं भने किन खेती गर्ने?'
स्थानीय किसानहरू भन्छन्, सरकारले किसानको उत्पादनको न्यूनतम समर्थन मूल्य तोक्ने व्यवस्था गर्नुका साथै बजार व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकता अझ बलियो हुँदै गएको छ।
यो घटनाले किसानहरू बजार मूल्यप्रति कति असन्तुष्ट छन् भन्ने स्पष्ट देखाएको छ। साथै, उत्पादनको संरक्षण, भण्डारण र मूल्य स्थायित्वका विषयमा स्थानीय सरकार र सरोकारवाला निकायहरूले ध्यान दिनुपर्ने आवाज समेत उठ्न थालेको छ।






































