विराटनगर— झापा र मोरङ जिल्लाबाट प्रहरीले लागू औषध ब्राउन सुगर तथा प्रतिबन्धित औषधीसहित सात जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

विहीबार मोरङको विराटनगर–१५ स्थित इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले भारत, अररिया फारबिसगञ्ज निवासी ३५ वर्षीय सिकन्दर बाखत र सरफराजलाई शंकास्पद अवस्थामा चेकजाँच गर्दा उनीहरूको साथबाट १४१ ग्राम ब्राउन सुगर फेला परेको हो।

यस्तै, झापाको दमक नगरपालिका–४ की २६ वर्षीया ज्योती राई तामाङ, कमल गाउँपालिका–५ का २७ वर्षीय संजीव लिम्बु, वसन्त राई, तथा कमल गाउँपालिका–४ का सन्दीप धिमाललाई ३ ग्राम ३२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

त्यसैगरी, विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनी र लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–५ का ४६ वर्षीय राजेन्द्र पन्थलाई पक्राउ गरेको हो। उनको घरमा लुकाई छिपाई राखिएको अवस्थामा प्रतिबन्धित औषधी ट्रामाडोलका २० हजार क्याप्सुल फेला परेको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका सबै व्यक्तिहरूलाई लागूपदार्थ सम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।