विराटनगर— मोरङ, सुनसरी र उदयपुर जिल्लाबाट लागू औषधसहित ६ जना पक्राउ परेका छन्। बुधबार प्रहरीद्वारा गरिएको छुट्टाछुट्टै कारबाहीमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

मोरङको पथरीशनिश्चरे–१० का २२ वर्षीय अब्राहम राई र २६ वर्षीय युकेश राईलाई इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको टोलीले ५९ चक्की ट्रामाडोलसहित पक्राउ गरेको हो।

त्यसैगरी, कानेपोखरी गाउँपालिका–६ का ३३ वर्षीय प्रेम दाहाल र २२ वर्षीय निसान माझीलाई ३४९ चक्की डायक्लोमाइन र ट्रामाडोलसहित प्रहरी चौकी रमाइलोले नियन्त्रणमा लिएको छ।

सुनसरीको धरान–६ का २७ वर्षीय चेतनाथ खड्कालाई ९४ क्याप्सुल ट्रामाडोल र ९५ ट्याब्लेट डिकोलिकसहित प्रहरीले पानबारीबाट पक्राउ गरेको हो।

त्यस्तै, उदयपुरको बेलका नगरपालिका–३ का ३५ वर्षीय शुनिल श्रेष्ठलाई ९ किलोग्राम गाँजासहित प्रहरीले प्रहरी बिट आम्बासीबाट पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका सबैविरुद्ध लागू औषध सम्बन्धी कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।