झापा— प्याप्सन झापामा १४औं जिल्ला अधिवेशनपछि आन्तरिक मतभेद सतहमा आएको छ। अध्यक्षमा छत्र कार्की विजयी भएपछि प्रतिस्पर्धी जनार्दन ढकाल पक्षले बेवास्ता गरिएको आरोप लगाउँदै झापा क्लस्टर प्याप्सनको नाममा समानान्तर गतिविधि सञ्चालन गरिरहेको छ।

शिवशताक्षीमा हालै सम्पन्न कर, सामाजिक सुरक्षा कोष र लेखा व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रममा १५३ प्रिन्सिपलको उल्लेखनीय सहभागिता देखिएको थियो। कार्यक्रम जनार्दन ढकालको अध्यक्षतामा भएको थियो, जसमा संगठनको समावेशीपनमाथि प्रश्न उठाइयो।

अर्कोतर्फ, अध्यक्ष कार्कीले पराजित समूहलाई सल्लाहकारको रूपमा समेट्ने प्रयास गरिएको दाबी गर्दै विभिन्न पालिकासँगको समन्वयमा कार्यक्रम बजेट सुनिश्चित भएको जानकारी दिएका छन्।

झापामा अहिले प्याप्सन, एनप्याप्सन र झापा क्लस्टर प्याप्सन गरी तीन धार क्रियाशील देखिएका छन्। शिक्षा क्षेत्र संवेदनशील भएकाले आन्तरिक मतभेद समाधान नभए संगठनको उद्देश्य नै ओझेलमा पर्ने चिन्ता विज्ञहरूले व्यक्त गरेका छन्। विनोद सापकोटा