झापा— निजी विद्यालयहरूको पारदर्शिता, सामाजिक सुरक्षा र कर प्रणालीबारे जानकारी दिन झापा क्लस्टर प्याप्सनले शिवशताक्षीस्थित वाटर किङ्गडम पार्कमा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा शिवशताक्षी नगरपालिका–८ का वडा अध्यक्ष सन्तकुमार फेउदेन प्रमुख अतिथिका रूपमा उपस्थित थिए। उनले शिक्षासँग जोडिएका यस्ता विषयगत कार्यक्रमहरूमा स्थानीय तहको समेत चासो रहेको भन्दै यस्ता प्रयासहरूलाई स्वागतयोग्य बताए।
गौरीगञ्ज गाउँपालिकाका पूर्व उपाध्यक्ष दिपेन्द्र थापाले निजी विद्यालयहरूले पारदर्शिता, उत्तरदायित्व तथा सामाजिक सुरक्षा प्रणालीको प्रभावकारी कार्यान्वयनमा अग्रणी भूमिका खेल्नुपर्नेमा जोड दिए।
कार्यक्रममा सामाजिक सुरक्षा कोष, विराटनगरका कार्यालय प्रमुख दीपकराज भट्ट र आन्तरिक राजस्व कार्यालय, दमकका कर अधिकृत ज्ञानेन्द्र कुमार यादव ले संयुक्त रूपमा प्रशिक्षण दिएका थिए। उनीहरूले सामाजिक सुरक्षा कोषको संरचना, योगदान तथा लाभको प्रक्रिया, करसम्बन्धी कानुनी प्रावधान र विद्यालयहरूको आन्तरिक लेखा व्यवस्थापन प्रणालीबारे प्राविधिक जानकारी प्रस्तुत गरे।
अभिमुखीकरण कार्यक्रममा प्याप्सन कोशी प्रदेश सदस्य ध्रुव गौतम, प्याप्सन झापाका सह–सचिव विनोद सुब्बा, साथै प्याप्सन हल्दीबारीका अध्यक्ष याम दङ्गाल, गौरीगञ्ज प्याप्सन अध्यक्ष धनप्रसाद राजबंशी, जिल्ला सदस्य मोहन थापा, पूर्व पालिका अध्यक्ष नितेश खरेल, श्याम राजबंशी, डम्बर रुचाल, रुद्र सिटौला, बदीराम राई, भक्त कार्की लगायतको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमले निजी विद्यालयहरूमा प्राविधिक दक्षता अभिवृद्धि गर्दै नीति तथा कानुनप्रति स्पष्टता ल्याउन सहयोग गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।






































