काठमाडौं— त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लागू औषध कोकिन तस्करीको प्रयासमा एक विदेशी युवती पक्राउ परेकी छिन्। विमानमार्ग हुँदै नेपाल प्रवेश गरेका यात्रुमाथि निगरानीका क्रममा नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय त्रिभुवन विमानस्थलको टोलीले ती युवतीलाई पक्राउ गरेको हो।

पक्राउ परेकी युवती २१ वर्षीया ब्राजिलियन नागरिक इमिली मिकाएले सान्तोष फेरेरा हुन्। उनी ब्राजिलबाट कतारको दोहा हुँदै नेपाल आइपुगेकी थिइन्। उनी भुटान जाने तयारीमा रहेको अवस्थामा विमानस्थलको प्रस्थान कक्षबाट पक्राउ परेकी प्रहरीले जनाएको छ।

सुरक्षाकर्मीले जाँच गर्ने क्रममा उनको स्वेटरको कालो ब्राभित्र कण्डममा भरेर प्लास्टिकले प्याक गरिएको अवस्थामा झन्डै १ किलो ९५० ग्राम कोकिन फेला परेको बताइएको छ।

प्रहरीले लागू औषध (नियन्त्रण) ऐन, २०३३ अनुसार काठमाडौं जिल्ला अदालतबाट अनुसन्धानका लागि थप म्याद लिई अनुसन्धान अघि बढाइएको जनाएको छ। घटनालाई प्रहरीले अन्तर्राष्ट्रिय लागू औषध तस्करी सञ्जालसँग सम्बन्धित रहेको आशंका गरेको छ।