काठमाडौं— लगातारको वर्षाका कारण विभिन्न स्थानमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। गजुरी गाउँपालिकास्थित जहरे खेत नजिकै खसेको ठूलो पहिरोले राजमार्गको दुबैतर्फको सवारी आवागमन ठप्प पारेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख सुरज श्रेष्ठले जानकारी दिए।

पहिरो पन्छाउने काम जारी रहेको उनले बताए । लगातार पानी परिरहेकाले काममा कठिनाइ भइरहेको छ। पहिरो विस्तारै बगिरहेकोले सुरक्षाको दृष्टिकोणले पनि सावधानी अपनाइएको जनाइएको छ।

राजमार्ग अवरुद्ध भएपछि संघीय राजधानी काठमाडौंबाट बिहान छुटेका सवारीसाधन र राजधानी प्रवेश गर्न लागेका रात्री बसहरू सडकमै रोकिएका छन्। थप सवारी जाम हुन नदिन प्रहरीले विभिन्न स्थानमा सवारी व्यवस्थापन गरिरहेको छ।

जहरे खेत क्षेत्रको पहिरो हटाउन मात्रै करिब तीन घण्टा लाग्ने अनुमान गरिएको छ। यस्तै, अन्य स्थानहरूमा पनि पहिरो खस्दा कतिपय ठाउँमा सडक एकतर्फ मात्रै सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।

प्रहरीले यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन र वैकल्पिक मार्गको उपयोग गर्न सुझाव दिएको छ।