काठमाडौं  –  रामेछाप लिखु तामाकोशीकी सावित्रा बस्नेतले टिकटक हेर्ने क्रममा एक पुरुषले एक महिलालाई सिन्दुर हालिरहेको भिडियो देखेपछि झसङ्ग भइन्। भिडियोमा देखिएका पुरुष उनको श्रीमान् भरत बस्नेत थिए।


श्रीमान् नेपाल प्रहरीका हवल्दार। उनी जिल्ला प्रहरी परिसर भक्तपुरमा कार्यरत थिए। नातेदारहरूले भरतले अर्को विवाह गरेको सुनाए पनि उनले पत्याएकी थिइनन्। तर, टिकटकमा सिन्दुर हालिरहेको भिडियो नै देखेपछि भने उनले जिल्ला प्रहरी कार्यालय भक्तपुरमा दुवै जनाविरुद्ध बहुविवाहको जाहेरी दिइन्।


बहुविवाहको जाहेरी परेपछि भरत १७ दिनदेखि फरार रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी ढुण्डिराज न्यौपानेले उकेरालाई जानकारी दिए।


‘उनी यही कार्यरत हवल्दार हुन्। बहुविवाहको उजुरी परेपछि उनी हाल फरार छन्। पक्राउ पुर्जी जारी भएको छ’, न्यौपानेले भने।


उनका अनुसार भरतसँग उनको २०६८ वैशाख १३ गते प्रेम विवाह भएको हो। प्रहरीमा जागिरे भरतसँग विवाह गर्दा उनी १४ वर्षको मात्र भएको बताइन्। उनी केही वर्ष भरतकै घरमा बसिन्। सात वर्ष अगाडि  भरतले उनलाई काठमाडौं बोलाए।


सुरूका केही वर्ष सामान्य रूपमा व्यवहार चले पनि भरतको स्वभाव बदलियो। परिवारमा झगडा सुरू भयो। मार्नेसम्मको धम्की आउन थालेको उनको दाबी छ। सावित्राका अनुसार भरतले पोखराकी मीना बानियाँसँग दोस्रो विवाह गरेका हुन्।


‘सुरूमा मलाई थाहा नै थिएन। नातेदारले बताएपछि थाहा पाएँ। टिकटकको भिडियो हेरेपछि म त झसङ्ग भए’, सावित्राले भनिन्।


उनका अनुसार मीना बेलाबखत घरमा आउँथिन्। दर खाने बहानामा घरमा आएकी थिइन्। शंका लागेपछि यस्तो नगर्न भनेपछि कुटपिट भएको उनले बताइन्। उनले मीनालाई समेत भरत पहिल्यै विवाहित रहेको र दुई सन्तान रहेको जानकारी भएको बताइन्।


घरमा हिंसा बढेपछि उनी चैत २३ गतेबाट दुई सन्तान लिएर चन्द्रागिरिमा रहेको  माइतीमा बस्दै आएकी छिन्। उनले जीविकोपार्जनका लागि त्यहाँ चिया पसल राखेकी छिन्। आफ्नै काम गर्दा समेत बेला-बेलामा फोन गरेर गाली गर्ने गरेको सावित्राकी भाउजू पूजा बस्नेतले बताइन्।


‘उहाँले आफ्नै चिया पसल थापेर जीविका चलाइरहँदा समेत बेला-बेला भरत र मीनाले फोन गरेर तथानाम गाली गर्छन्। कहिले त रक्सी बेचेर खा भन्छन्। कहिले तँलाई एड्स लागेको  छ भन्दै गाली गर्छन्। कहिले सामाजिक सञ्चालन टिकटक लाइभ आएर समेत गाली गर्छन्’, उनले भनिन्।


सुरुवाती दिनमा श्रीमानले मीनालाई विवाह गरेकोबारे आफन्तले जानकारी दिए पनि उनले कुनै प्रतिक्रिया जनाइनन्। तर, पछि टिकटकमा विवाह नै गरेको भिडियो हालेपछि भने बहुविवाहको उजुरी दिएको सावित्रा बताउँछिन्।


‘सबैले विवाह गरिसके भनेका थिए। तर, आफूले नदेखेसम्म कसरी पत्याउनु। पछि टिकटकमा विवाह भएको भिडियो देखेँ। मेरो बुढी भन्दै खुट्टामा तेल लगाइरहेको भिडियो देखेँ। अनि बहुविवाहको मुद्दा दायर गरेको हो। १७ दिन भइसक्यो अझै पक्राउ परेका छैनन्’, उनले भनिन्।