काठमाडौं – प्रहरीले गुन्डागर्दीमा संलग्न थप चारजनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नयाँ बसपार्क क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा हेटौंडाका दीपक कार्की, नुवाकोटका निरज गुरुङ, टोखाका रोशन डंगोल र रोहन डंगोल छन् ।
उनीहरूमाथि माछापोखरीस्थित राजधानी रोधीघरमा स्टेजमा नाचगान गरीरहेकी एक युवतीलाई अश्लील हर्कत गरी धारिलो हतियार समेत देखाएर त्रास सिर्जना गरेको आरोप छ ।
प्रहरीका अनुसार पक्राउ परेका निरज एक हप्ताअघि पक्राउ परेका गुन्डानाइके युवराज गुरुङ उर्फ सानुभाइका सहोदर दाइ हुन् । उनीविरुद्ध ज्यान मार्ने उद्योगसहित विभिन्न पाँचवटा मुद्दा लागिसकेको छ ।
पक्राउ परेका रोशनविरुद्ध पनि यसअघि ज्यान मार्ने र अभद्र मुद्दा चलेको खुलेको छ ।
पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं बुझाएको कार्यालयका एसपी काजिकुमार आचार्यले जानकारी दिए ।
गएको बिहीबार मात्रै कार्यालय र जिल्ला प्रहरी परिसरको संयुक्त टोलीले चर्चित गुन्डानाइके मिलन गुरुङ उर्फ चक्रेसहित ४७ जनलाई पक्राउ गरेको थिए ।
पक्राउ परेकामध्ये १९ जनाविरुद्ध प्रहरीले अभद्र कसुरमा अनुसन्धान जारी राखेको छ ।