विराटनगर – मोरङको पथरीशनिश्चरेमा बुधबार राति आगलागी हुँदा जलेर एकजना युवक घाइते भएका छन्। प्रहरीका अनुसार पथरीशनिश्चरे नगरपालिका–५ गुराँस टोलका सुरेन्द्र साहको गाईगोठमा लामखुट्टे धपाउन बालेको घुरबाट राति १०:३० बजेतिर आगो सल्किएको थियो । 


गोठमा सल्किएको आगोले विद्युत लाइन पनि सर्ट भएको थियो । स्थानीयको सहयोगमा करिब १ घण्टाभित्रमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।  आगो निभाउने क्रममा सुरेन्द्रका छोरा १९ वर्षीय अभिनाश साह घाइते भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । 


घाइते अभिनाशको रंगेली अस्पतालमा उपचार भइरहेको छ । शरीरका विभिन्न भाग जलेका उनको अवस्था मध्यम रहेको प्रहरीले उल्लेख गरेको छ । आगोले जलेर सुरेन्द्रको एउटा गाई मरेको छ । एउटा गाई र बाच्छी घाइते भएका छन् । 


आगोले गोठमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनामा करिब ६० हजार मूल्य बराबरको क्षति भएको अनुमान छ । घटनाको थप अनुसन्धान सुरू गरिएको प्रहरीको भनाइ छ ।