पोखरा— नेपाल सरकार कानून तथा संसदीय मन्त्रालयले मुलुकी अपराध संहितालाई संशोधन गर्न ल्याएको बहुविवाह गर्न पाउने प्रस्तावित मस्यौदाप्रति नेपाली कांग्रेस गण्डकी प्रदेश महिला विभागको ध्यानाकर्षण भएको जनाएको छ ।

विभागद्वारा पोखरामा आयोजित महिलाहरुको विशेष भेलाले नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मामार्फत ध्यानाकर्षण पत्र हस्तान्तरण गरिएको छ ।

सो पत्रमा महिलाको आत्मसम्मानमा ठेस पुर्‍याउने गरी अझै पनि दोस्रो दर्जाको नागरिकको रुपमा धचेट्ने अभिप्रायले सरकारले बहुविवाह गर्न पाउने सम्बन्धित कानून प्रस्तावित मस्यौदालाई अगाडि नबढाउन चेतावनी दिइएको छ ।

सो पत्र बुझ्दै सभापति शर्माले ज्ञापनपत्रमा उल्लेख भएका बिषयलाई सम्बन्धित ठाउँमा पुर्याउने बताए । 

उनले प्रजातन्त्रमा सबै नागरिक समान हुने र कसैमाथि विभेद नहुने स्पष्ट पारे। संसार चलाउन भगवानले लिङ्गको आधारमा महिला र पुरुष भनिएको उनले बताए । उनले शरीर महिला हो भने पुरुष आत्मा भएको स्पष्ट पारे ।

कांग्रेस गण्डकी प्रदेश उपसभापति कल्पना तिवारीले महिला नै कांग्रेस संगठनको मूल आधार भएको बताइन् ।

उपसभापति मेखलाल श्रेष्ठले महिलालाई अझ सशक्त बनाई राजनीति मूलधारमा ल्याउन आवश्यक रहेको बताए ।

महामन्त्री विष्णु लामिछानेले सवल संगठनको पहिलो आधार कांग्रेसभित्र महिला विभाग रहेको बताए । 

पार्टी प्रवक्ता मधु बास्तोलाले नेपाली कांग्रेसमा मात्र समानुपातिक, समावेशीतालाई पहिलो मान्यता दिने भएकाले महिलालाई राजनीतिमा आउन उत्प्रेरित गरे । 

गण्डकी प्रदेश महिला विभाग प्रमुख शकुन्तला शर्माले सरकारले ल्याउन थालेको विधेयकको विरोध गरिन् ।

प्रदेशका ११ जिल्लाका महिला प्रतिनिधिको सहभागिता रहेको कार्यक्रममा मनोनित गरिएका महिला विभागका सदस्यलाई प्रमाण(पत्र प्रदान गरियो । 

सहभागी महिला एवं विभागका प्रमुखले नेपाली कांग्रेसको संगठन र भावी कार्यदिशाबारे आआफ्ना धारणा राखेका थिए ।