पोखरा— सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अनलाइन फारम भरीदिने र परीक्षामा पास गराइदिने प्रलोभन देखाई सेवाग्राहीबाट घुस लिएको आरोपमा कास्कीस्थित यातायात व्यवस्था कार्यालयमा कार्यरत एक कार्यालय सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
करार सेवामा कार्यरत कर्मचारी दिपक पौडेलले सेवाग्राहीसँग सात हजार रूपैयाँ घुस लिएको अवस्थामा रंगेहात पक्राउ परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पोखराको टोलीले उनलाई पक्राउ गरेको हो ।
आयोगका अनुसार पौडेलले सवारी चालक अनुमति पत्र प्राप्त गर्न आवश्यक अनलाइन फारम भरीदिने, लिखित परीक्षा पास गराइदिने र ट्रायलमा समेत सहयोग गर्ने आश्वासन दिँदै रकम मागेका थिए ।
अख्तियारको अनुसन्धानबाट पौडेलले बदनियतपूर्वक सेवाग्राहीसँग घुस मागेर लिएको प्रमाणित भएको भन्दै उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) अनुसार कैद सजाय र बिगोअनुसार जरिवाना माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।