दाङ— सौताको छोराको हत्या आरोपमा २३ वर्षदेखि फरार बसन्ता शर्मा पण्डित काठमाडौंबाट पक्राउ परेकी छन्। गढवा गाउँपालिका–७ मानपुरकी ५० वर्षीया बसन्तालाई काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट मंगलबार बिहान साढे ८ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

शर्मामाथि २०५९ असार १९ गते सौताको छोरा, ९ वर्षीय शरद् शर्मालाई लाठी प्रहार गरी हत्या गरेर मलखादमा गाडेको आरोप छ। दाङ जिल्ला अदालतले २०६० असोज २६ गते उनलाई २ वर्ष कैद सजाय सुनाएको थियो। तर, पुनरावेदन अदालत तुलसीपुरले सो सजाय बढाएर १० वर्ष गरेपछि उनी फरार भएकी थिइन्।

शर्मा काठमाडौंमा छोरा केशवराज शर्मासँग बस्दै आएकी थिइन्। इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको टोलीले जिल्ला प्रहरी परिसर काठमाडौंको सहयोगमा उनलाई पक्राउ गरेको हो।

अब उनलाई कैद सजाय कार्यान्वयनका लागि दाङ जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएको छ।