विराटनगर— सुनसरी र झापाका विभिन्न स्थानबाट ब्राउन सुगरसहित सात जना पक्राउ परेका छन्। प्रहरीले विशेष सूचनाको आधारमा चेकजाँच गर्दा उनीहरूलाई लागुऔषध र नगदसहित पक्राउ गरेको हो।

सुनसरीको कोशी गाउँपालिका–१ मा लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको टोलीले ८८ ग्राम ३८ मिलिग्राम ब्राउन सुगर र २ लाख ५६ हजार नगदसहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा कोशी गाउँपालिका–४ का ३४ वर्षीय मनोज कुमार खतवे र भारत, अररिया बस्मतियाका ४५ वर्षीय राजकुमार खतवे छन्।

त्यसैगरी, जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा–४ बाट वराहक्षेत्र नगरपालिका–२ का २० वर्षीय रमेश बस्नेतलाई १ ग्राम ४० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको जनाएको छ।

झापातर्फ, अर्जुनधारा नगरपालिका क्षेत्रबाट तीन जनालाई पक्राउ गरिएको छ। प्रहरी चौकी शनिश्चरेले अर्जुनधारा–७ का ३२ वर्षीय विजय मगर, अर्जुनधारा–३ का जीवन चौलागाई र अर्जुनधारा–४ का २४ वर्षीय देवेन्द्र उर्फ अशोक चौधरीलाई ४०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।

यस्तै, इलाका प्रहरी कार्यालय काँकडभिट्टाले बिर्तामोड नगरपालिका–५ का २४ वर्षीय अभिनाश चौधरीलाई ६१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको छ।

प्रहरीले सबै अभियुक्तहरूलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाइएको जनाएको छ।