सिराहा – सिरहाको नरहा गाउँपालिका–३ स्थित चोहर्वा–सिराहा सडकखण्डमा प्रहरीको नियमित जाँचका क्रममा नलकटुवा पेस्तोलसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार भारतको विहार राज्य, मधुवनी जिल्लाको बेलही पञ्चायत–३ निवासी ओमशङ्कर यादव, ऋषिनाथ मण्डल र आकाशकुमार मण्डललाई मङ्गलबार अपराह्न पक्राउ गरिएको हो । उनीहरू एकै मोटरसाइकलमा सवार रहेका थिए ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरीक्षक राजेशराज पुरीको नेतृत्वमा खटिएको टोलीले शङ्का लागेर मोटरसाइकल रोकेर जाँच गर्दा लुकाइछिपाइ राखिएको नलकटुवा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनैजनालाई मिर्चैया प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासवानले जानकारी दिए । उनका अनुसार, आज उनीहरूलाई सिरहा जिल्ला अदालतमा उपस्थित गराई हातहतियार तथा खरखजानासम्बन्धी मुद्दामा म्याद थप गरि अनुसन्धानका अगाडि बढाइने छ ।