काठमाडौं— आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा (राई) लाई पोखराको लेकसाइडबाट सोमबार पक्राउ परी साइबर क्राइम मुद्दामा अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ । गत वैशाखमा आफूमाथि रड प्रहार भएको भन्दै उनले दायर गरेको ज्यान मुद्दाकी प्रतिवादी शर्मिला श्रेष्ठको जोहरीले उनी अहिले पक्राउ परेकी हुन् ।
साइबर क्राइम व्युरो स्रोतका अनुसार, वैशाखमा वाइबाको जोहेरीले पक्राउ परी रिहा भएकी शर्मिला श्रेष्ठले साइबर क्राइमसम्बन्धी कसुरको दफा ४७ बमोजिम दिएको जाहेरीका आधारमा उनीमाथि अनुसन्धान भइरहेको छ ।
वाइबाले श्रेष्ठको टिकटक आईडी चोरेर आफ्नो सामाजिक मान(प्रतिष्ठामाथि आँच पुग्ने गरी चरित्र हत्या गरेको भन्दै जाहेरी दिएकी थिइन् । सोही जोहरीका आधारमा जिल्ला अदालत, काठमाडौंले वाइबालाई पक्राउ गर्न अनुमति दिएको थियो ।
मकवानपुर घर भई काठमाडौं बस्ने ३५ वर्षीया शर्मिला श्रेष्ठ (राई) र भक्तपुर, चाँगुनारायण बस्ने ४२ वर्षीय बाबु भन्ने कुवेर सिलवालले ज्यान मार्ने उद्देश्यले आफूमाथि रड प्रहार गरेको भनी वाइबाले दिएको जाहेरीका आधारमा उनीहरू गत वैशाख १० मा पक्राउ परेका थिए ।
वाइबाले आफूमाथि वैशाख ३ गते साँझ ५ बजे गोठाटार, पहेँलो पुलनजिकै मन्दिरअगाडि फलामको रड प्रहार भएको दावी गरेकी थिइन् । वाइबाको दाबी ठहर नभएपछि उनीहरु जिल्ला अदालतबाट साधारण तारेखमा रिहा भएका थिए ।