धरान— कोशी गाउँपालिका—८ स्थित भीमनगर सीमावर्ती क्षेत्रबाट प्रहरीले नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको लु ९२ प २३८० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा प्रहरीले नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाले जानकारी दिए ।
पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–२ का २६ वर्षीय राजेशकुमार रजक र सोही नगरपालिका–१ का २५ वर्षीय राजेश चमार रजक रहेका छन् ।
गए राति उनीहरूलाई इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएको टोलीले पक्राउ गरेको प्रवक्ता खतिवडाले जानकारी दिए ।
प्रहरीका अनुसार मोटरसाइकलको पछाडि सवार राजेश चमार रजकको साथबाट नेपाली एक हजार दरका ३८ थान नक्कली नोट जम्मा रु ३८ हजार फेला परेको हो । बरामद नक्कली नोट र प्रयोग गरिएको मोटरसाइकलसहित दुवै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
हाल उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।