विराटनगर— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको समर्थनमा हस्ताक्षर गर्न आएका एक व्यक्ति यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर भइसकेको खुलासा भएपछि प्रहरीले पक्राउ गरेको छ।

सुनसरीको वराहक्षेत्र नगरपालिका–७ का ५९ वर्षीय अर्थराज कोइरालालाई प्रहरीले मंगलबार विराटनगरको महेन्द्र चोकबाट पक्राउ गरेको हो। उनी लामिछानेको पक्षमा विराटनगरस्थित पार्टी कार्यालयमा चलिरहेको हस्ताक्षर संकलन कार्यक्रममा सहभागी हुन आएका थिए।

सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमन तिम्सिनाले कोइराला यौन दुर्व्यवहार मुद्दामा अदालतबाट दोषी ठहर भइसकेको भन्दै उनलाई पक्राउ गरिएको जानकारी दिए। “अदालतले फैसला गरिसकेको व्यक्ति लामो समयदेखि फरार थिए,” उनले भने, “हामीले जानकारी पाएलगत्तै उनलाई पक्राउ गरेका हौं।”

कोइरालामाथि आफ्नै घरमा काम गर्ने एक नाबालिगमाथि यौन दुर्व्यवहार गरेको आरोपमा मुद्दा दायर भएको थियो। सुनसरी जिल्ला अदालतले गत असार ३२ गते उनलाई बाल यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर गर्दै २ वर्ष कैद, २५ हजार रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको थियो।

यसअघि वैशाखमा कोइराला अमेरिका (टेक्सस)बाट नेपाल फर्किएका बेला पक्राउ परेका थिए। तर उनी धरौटीमा रिहा भएका थिए र फैसला आउँदासम्म फरार रहेका थिए। उनी नेपाली काँग्रेसका केही नेताहरूसँग निकट सम्बन्ध रहेको भन्दै लामो समयसम्म कानुनी कारबाहीबाट जोगिइरहेको चर्चा थियो।

रास्वपाले मंगलबार विराटनगर महानगरपालिका–३ स्थित पार्टी कार्यालयमा सभापति लामिछानेविरुद्धको सर्वोच्च अदालतको फैसलापछि समर्थन स्वरूप हस्ताक्षर संकलन कार्यक्रम सञ्चालन गरेको थियो। सोही कार्यक्रममा सहभागी हुन आएका बेला कोइराला पक्राउ परेका हुन्।