काठमाडौं— विद्यालय शिक्षा विधेयकमा रहेका विवादित दफाहरू समाधान गर्न गठन गरिएको परामर्श समितिको बैठक निष्कर्षविहीन बनेको छ। समितिले आइतबारदेखि विधेयकमाथि छलफल गर्दै आएपनि ठोस सहमति जुट्न सकेको छैन् ।
विवादित दफाहरू मिलाउन नसकिएपछि प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक समेत स्थगित भएको छ। समितिका सभापति अम्मरबहादुर थापाले (भोलि) बुधबारभित्र विधेयकको टुंगो लगाउने तयारी भइरहेको जानकारी दिए।
“समितिअन्तर्गतको परामर्श समिति विवादित दफाहरू मिलाउने प्रयासमा जुटिरहेको छ। भोलि टुंगो लाग्ने सम्भावना छ। समय पुग्यो भने भोलि नै बैठक बस्छ, नभए पर्सिपल्ट निर्णय गरिन्छ,” थापाले बताए।
विधेयकमा अस्थायी शिक्षकको भविष्य, कार्यसम्पादन मूल्यांकन, शिक्षक पदपूर्ति, र पूर्वप्राथमिक शिक्षा (ईसीडी) जस्ता विषय विवादको मुख्य कारण बनेका छन्। यिनै विषयमा सरकार र शिक्षक महासंघबीच अझै सहमति कायम हुन सकेको छैन।
नेपाल शिक्षक महासंघले यसअघि साउन २१ गतेसम्मको अल्टिमेटम दिँदै विधेयक तत्काल पारित गर्न माग गरेको थियो। महासंघका सहअध्यक्ष तुलाबहादुर थापाले परामर्श समितिको प्रगतिप्रति ध्यान दिँदै अहिले 'पर्ख र हेर'को अवस्थामा रहेको बताएका छन्।
“महासंघमा आगामी रणनीतिबारे कुनै नयाँ छलफल भएको छैन। समितिले समाधान ल्याउने अपेक्षामा छौँ,” थापाले जानकारी दिए।
गत चैत २० गतेदेखि झन्डै एक महिनासम्म महासंघले शिक्षा ऐनको माग गर्दै काठमाडौंमा आन्दोलन गरेको थियो। सोही आन्दोलनपछि शिक्षा मन्त्री रघुजी पन्तले असार १५ भित्र विधेयक पारित गर्ने नौबुँदे सहमति गरेका थिए। तर, निर्धारित समयसीमामा विधेयक पारित हुन नसक्दा विवादित दफाको टुंगो अझै लाग्न सकेको छैन।
 
                     
                                        
                                                                                                 
        








 
        





























 
        