काठमाडौं— तार्केश्वर नगरपालिका–११ का वडाध्यक्ष कविराज बस्नेतसहित ११ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई तार्केश्वर र काठमाडौं महानगरपालिका–१६ को सिमानामा भएको विवादसँग सम्बन्धित घटनामा संलग्न रहेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

शहरी विकास प्राधिकरणले खोलाको करिडोर विस्तारका लागि आयोजना गरेको टेन्डरअनुसार ठेकेदारले निर्माण कार्य अघि बढाएका थिए। तर, सीमा क्षेत्र नजिकैको सडक विस्तारको क्रममा स्थानीय तहबीचको सीमा विवाद चर्किएपछि अवस्था तनावपूर्ण बनेको थियो।

२३ असारमा भएको झडपका क्रममा एक जनाको टाउकोमा चोट लागेको थियो। घाइते व्यक्तिले सरकारी वकिलको कार्यालयमा उजुरी दिएका थिए। त्यसै उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुलदीप चन्दले जानकारी दिए।

उनका अनुसार उजुरी दर्ता भएपछि प्रारम्भिक अनुसन्धानको क्रममा वडाध्यक्ष बस्नेतसहित ११ जनालाई पक्राउ गरिएको हो। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।