काठमाडौं –  नेकपा एमालेका सांसद ठाकुर प्रसाद गैरेले पूर्णरुपले अवरुद्ध भएका राजमार्गहरु सुचारु गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले ग्रामिण क्षेत्रका सडकहरु अवरुद्ध हुँदा स्थानीय जनजीवन कष्ठकर भईरहेको भन्दै सरकारको प्रयत्नलाई रुपान्तरण गर्नुपर्ने बताए । 

‘पश्चिम पाल्पाको जुठापौवा, बलङगढीखण्डमा बाटो भासिएर स्थानीय जनजीवन कष्ठकर भैरहेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गतका आरुभञ्ज्याङ राम्दीखण्ड त्यहाँका सम्पूर्ण ग्रामिण क्षेत्रका सडकहरु समेत पहिरोले बन्द भएको छ । नागरिकहरुको यात्रा अवरुद्ध हुँदा त्यसलाई सुचारु गर्न सरकारको प्रयत्नलाई सार्थक रुपमा रुपान्तरण गर्न सरकारको ध्यानाकर्षण गराउन चाहान्छु ।’ उनले भने । 

उनले सिद्धार्थ राजमार्ग अन्तर्गतको सिद्धबाबाखण्डमा ठुलो पहिरो जाँदा लगभग १९÷२० घण्टा देखि यात्रुहरु अप्ठेरोमा परेको भन्दै सुचारुको लागि ध्यानाकर्षण पनि गराएका छन् । 

उनले भने, ‘सिद्धार्थ राजमार्ग अन्तर्गतको सिद्धबाबाखण्डमा ठुलो पहिरो जाँदा १९÷२० घण्टा देखी सिद्धार्थ राजमार्ग भएर यात्रा गर्ने यात्रुहरु र त्यो क्षेत्रबाट अन्य क्षेत्रमा जाने यात्रुहरुको यात्रा पूर्णरुपले अवरुद्ध भएको छ । यात्रुहरु बाटोमा विचल्ली हुने परिस्थीति बन्यो, त्यहाँबाट नुवाकोट दोभानको वैकल्पित बाटो सञ्चालन गर्न तिनाउ गाउँपालिका, सरकार, सुरक्षाकर्मी लगायतले प्रयत्न गरिरहनु भएको छ तर सफल हुन सकेको छैन ।’