भक्तपुर— जिल्लाको चाँगुनारायण नगरपालिका–७ स्थित खरिपाटीमा रहेको बाँसबारी रिसोर्टमा जुवातास खेल्दै गरेको अभियोगमा चार जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मध्यपुर थिमी नगरपालिका–५ निवासी ३७ वर्षीय बाबुराजा प्रजापतिसहित चार जना छन्। 

उनीहरूलाई सोमबार दिउँसो प्रहरीको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रहरीले घटनास्थलबाट नगद एक लाख पाँच हजार नौ सय चालीस रुपैयाँ (रु. १,०५,९४०) बरामद गरेको छ। साथै, डिजिटल तास खेलाउन प्रयोग हुने मोबाइल आकारको एक थान डिभाइस, १२ बुक डिजिटल तास, ६ थान मोबाइल फोन, एक थान मोटरसाइकल र एक थान स्कुटर समेत बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ। प्रहरीले जुवातास सम्बन्धी थप अनुसन्धान अघि बढाएको जानकारी दिएको छ।