गुल्मी— अविरल वर्षाका कारण पहिरो खस्दा गुल्मीको प्रमुख यातायात मार्ग कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। रिडी–पुर्तिघाट सडकखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ स्थित गरगरे, मुल्क र वडा नम्बर ३ को कनौटामा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार अन्य स्थानका पहिरो हटाइए पनि गरगरे खण्डमा पहिरो पन्छाउने कार्य जारी छ। तर, निरन्तर वर्षाका कारण पहिरो खसिरहँदा उद्धारमा कठिनाइ भईरहेको प्रहरीले जनाएको छ।
कालीगण्डकी गाउँपालिकाले अत्यावश्यकबाहेक यात्रा नगर्न र यात्रा गर्नै परेमा पहिल्यै सडकको अवस्था बुझेर मात्र यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। शनिबार रातिदेखि लगातार वर्षा भइरहेकोले जिल्लाभरिका अधिकांश ग्रामीण सडकसमेत अवरुद्ध भएका छन्।
सडक अबरुद्ध भएपछि गुल्मी हुँदै सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारीसाधन पूर्णरूपमा ठप्प भएका छन्। यसले स्थानीय जनजीवन प्रभावित हुनुका साथै खाद्यान्न आपूर्ति, स्वास्थ्य सेवा र आपत्कालीन उद्दारसमेत प्रभावित भएको छ।