बागलुङ— आन्तरिक राजस्व कार्यालय बागलुङले आर्थिक वर्ष २०८१/८२ मा एक अर्बभन्दा बढी राजस्व संकलन गरेको छ। सो अवधिमा एक अर्ब सात करोड ६६ लाख ३० हजार रुपैयाँ राजस्व संकलन भएको सूचना अधिकारी मोहनप्रसाद आचार्यले जानकारी दिए। कार्यालयले उक्त वर्षमा एक अर्ब २२ करोड ३९ लाख २० हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो। तर लक्ष्यको ८७.९७ प्रतिशत मात्र संकलन गर्न सकिएको आचार्यले बताए। “सरकारको आन्तरिक राजस्व संकलनको बजेटअनुसार नै कार्यालयको लक्ष्य निर्धारण गरिएको हो,” उनले भने, “तर त्यो अनुसारको राजस्व संकलन गर्न सकिएन।”
आर्थिक वर्ष २०८१/८२ मा कार्यालयले आयकरतर्फ ६० करोड १० लाख ३५ हजार रुपैयाँ, भाडा आयकर एक करोड ५३ लाख ४० हजार, ब्याज कर १० करोड ४१ लाख ४५ हजार, मूल्य अभिवृद्धि कर ९आन्तरिक० २९ करोड ७३ लाख ५४ हजार, आन्तरिक उत्पादन शुल्क पाँच करोड ८५ लाख ५३ हजार, शिक्षा कर तीन हजार र अन्य कर दुई लाख रुपैयाँ संकलन गरेको छ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा भने कार्यालयले कुल ९६ करोड ७६ लाख ५० हजार रुपैयाँ राजस्व संकलन गरेको थियो। सो अनुसार पछिल्लो वर्ष १० करोड ८९ लाख ८० हजार रुपैयाँले राजस्व बढेको छ।
राजस्वको दायरा विस्तार गर्न कार्यालयले करदाताको दर्ता पनि उल्लेखनीय रुपमा बढाएको छ। सूचना अधिकारी आचार्यका अनुसार गएको वर्ष मात्र व्यवसायिक आयकरतर्फ दुई हजार एक सय २३, व्यक्तिगत आयकरतर्फ एक हजार सात सय ४६, डब्ल्युप्यानतर्फ एक सय २८, मूल्य अभिवृद्धि करतर्फ एक सय ४९ र अन्तशुल्कतर्फ एक सय ६४ नयाँ दर्ता भएका छन्।
हालसम्म कार्यालयमा व्यवसायिक आयकर दर्ता ३० हजार सात सय ४९, व्यक्तिगत आयकर दर्ता ५९ हजार एक सय ९७, डब्लुप्यान एक हजार तीन सय ३१, मूल्य अभिवृद्धि कर दुई हजार तीन सय पाँच र अन्तशुल्क दुई हजार ४० रहेका छन्।
कार्यालयले कर नतिर्ने करदातामाथि कानुनी कारबाही पनि गरेको छ। आयकरतर्फ ६ र मूल्य अभिवृद्धि करतर्फ १२ गरी १८ करदातालाई कारबाही गरिएको छ। तीबाट ५४ लाख ५९ हजार रुपैयाँ राजस्व संकलन भएको छ। त्यस्तै, कार्यालयले १३८ करदाताको द्रुत छानबिन गरेर २४ लाख ५७ हजार रुपैयाँ कर असुली गरेको छ।
कार्यालयका अनुसार बेरुजु रकम ३४ करोड १३ लाख ७६ हजारमध्ये २२ करोड ५२ लाख ९३ हजार फर्छ्यौट गरिएको छ। तीमध्ये चार करोड ७१ लाख ३१ हजारको सम्परीक्षण सम्पन्न भइसकेको छ। आयकरतर्फ दुई करोड २८ लाख ३२ हजार र मूल्य अभिवृद्धि करतर्फ तीन करोड १९ लाख १० हजार बक्यौता असुली गरिएको छ। साथै, दुई करोड ६० लाख ७६ हजार र एक करोड ५३ लाख २० हजार गरी कुल चार करोड १३ लाख ९६ हजार बक्यौता मिलान भएको कार्यालयले जनाएको छ।