विराटनगर— झापा, मोरङ र धनकुटाबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगर र गाँजा सहित ५ जना पक्राउ परेका छन्। विशेष सूचनाको आधारमा सुरक्षा निकायले विभिन्न स्थानमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय शिवगञ्जबाट खटिएको टोलीले झापा शिवसताक्षी नगरपालिका–५ का २९ वर्षीय राजेन्द्र कुमार ताजपुरीया र वडा नं. ४ का २१ वर्षीय अजय ताजपुरियालाई ८ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
त्यस्तै, लागू औषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले मोरङको विराटनगर–१५ स्थितबाट सुनसरीको बराहक्षेत्र नगरपालिका–७ निवासी ३२ वर्षीय मनोज बस्नेतलाई ३ ग्राम १०० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।
यता, इलाका प्रहरी कार्यालय राजारानी, धनकुटाले चौबिसे गाउँपालिका–६ का मुकेश विश्वकर्मा र दिवश राईलाई २ किलोग्राम गाँजासहित पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका व्यक्तिहरूलाई लागू औषध सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धानका लागि सम्बन्धित प्रहरी कार्यालयमा राखिएको छ।