काठमाडौं  – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रको गुटबन्दी अन्त्य गर्ने संकल्प लिइएको बताएका छन् । स्थायी समिति बैठक सकेर पेरिसडाँडाबाट निस्कने क्रममा पत्रकारहरूसँगा कुरा गर्दै प्रचण्डले पार्टीलाई एकताबद्ध बनाउने चुनौतीलाई जिम्मेवारीपूर्वक पूरा गरिएको बताए । 

उनले लोकतान्त्रिक आन्दोलन र गणतन्त्र सुदृढीकरणमा माओवादी केन्द्रको नेतृत्वदायी भूमिका स्मरण गरे । ‘देशको लोकतान्त्रिक आन्दोलन र गणतन्त्र सुदृढीकरणका लागि हाम्रो पार्टीले सबैभन्दा महत्वपूर्ण र नेतृत्वदायी भूमिका खेलेको छ,’ उनले भने, ‘पार्टीलाई एकताबद्ध बनाउने चुनौती थियो, त्यो चुनौतीलाई हामीले जिम्मेवारीपूर्वक पूरा गरेका छौँ ।’


उनले पार्टी अब एकताबद्ध बनेको र गुटबन्दी अन्त्य गर्ने साझा संकल्पमा पुगिएको दाबी गरे । ‘पार्टी एकताबद्ध भएको छ, हामीले सामूहिक प्रतिबद्धता जनाएका छौँ,’ प्रचण्डले भने, ‘गुटबन्दी अन्त्य गरेर सुदृढ एकता कायम गर्न संकल्प गरेका छौँ ।’