पर्सा— प्रेम सम्बन्धमा पारेर भारत तस्करीको प्रयासमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सखुवा प्रसौनी गाउँपालिका–५ का २५ वर्षीय हिरा माझी रहेका छन्।
माझीले एक युवतीलाई विवाहको प्रलोभन देखाएर दिल्लीमा रोजगारी लगाइदिने भन्दै काठमाडौंबाट वीरगञ्ज हुँदै भारत लैजान लागेका पर्सा प्रहरीले जानकारी दिए । उनलाई वीरगञ्ज महानगरपालिका–१६ स्थित शंकराचार्य गेटको सडकबाट प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले पक्राउ गरेको हो।
प्रहरीले पीडित युवतीको उद्दार गरेको छ। माझीमाथि मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ७ दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अभियुक्तले युवतीलाई विभिन्न प्रलोभन दिई फकाएर प्रेम सम्बन्धमा पारेका थिए । विवाह गर्ने आश्वासन दिँदै भारत लैजान खोजेका थिए।
यस घटनाले सामाजिक सञ्जाल वा व्यक्तिगत सम्बन्धमार्फत हुने मानव तस्करीको नयाँ रूपलाई उजागर गरेको प्रहरीले जनाएको छ।