काठमाडौं— रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि आवेदन खुला गरिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत ईपीएस कोरिया शाखाले पहिलो चरणको भाषा परीक्षाका लागि आवेदन फारम खुला गरेको हो।

एचआरडी कोरियाले उत्पादनमूलक तथा कृषि तथा पशुपालन क्षेत्रका लागि नेपाली कामदार माग गरेसँगै भाषा परीक्षामा सहभागी हुन आवेदन खुला गरिएको हो।

ईपीएस कोरिया शाखाका अनुसार भाषा परीक्षाका लागि ५ हजार ३०० जनाको कोटा तोकिएको छ। तीमध्ये ३ हजार ५ सय जना उत्पादनमूलक क्षेत्र र १ हजार ८ सय जना कृषि तथा पशुपालन क्षेत्रका लागि छनोट गरिनेछ।

एक व्यक्तिले एक मात्र क्षेत्रमा आवेदन दिन पाउने व्यवस्था गरिएको छ। भाषा परीक्षामा सफल भएकाले मात्रै दोस्रो चरणको स्किल टेष्ट र कम्पिटेन्सी टेष्टमा सहभागी हुन पाउनेछन्। यी दुबै चरण पास गरेपछि मात्र रोजगारीको लागि अन्तिम आवेदन दिन सकिनेछ।

ईपीएस कोरिया शाखाका अनुसार १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकहरूले आवेदन दिन सक्नेछन्। आवेदकले अदालतबाट फौजदारी मुद्दामा सजाय नपाएको, कोरियामा गैरकानुनी रूपमा बसेर फिर्ता नगरिएको, तथा नेपाल सरकारले अन्य मुलुकमा जान रोक नलगाएको हुनुपर्नेछ।

आवेदन फारम साउन २६ गतेदेखि ३१ गतेसम्म अनलाइनमार्फत भर्न सकिनेछ। भाषा परीक्षा भने काठमाडौंमा सञ्चालन गरिने जनाइएको छ।