इस्लामाबाद— पाकिस्तानमा लगातारको भारी वर्षा र बाढीले हालसम्म २९९ जनाको मृतयु भएको छ । मृत्यु हुनेमा १४० बालबालिका रहेका छन्।
राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) का अनुसार यो आपतकालीन अवस्था जुन २६ बाट सुरु भएको हो । देशव्यापी रूपमा जनधनमा ठूलो क्षति पुर्याएको छ।
एनडिएमएले दिएको विवरण अनुसार मृतकमध्ये १०२ पुरुष, ५७ महिला र १४० बालबालिका छन् भने ७१५ जना घाइते भएका छन्। घाइतेहरूमा २३९ बालबालिका, २०४ महिला र २७२ पुरुष रहेका छन्।
पाकिस्तानी पत्रिका डनका अनुसार बाढी र पहिरोका कारण १,६७६ घरहरू पूर्ण या आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। त्यस्तै, ४२८ वटा गाईवस्तुको मृत्यु भएको छ। प्रभावित समुदायहरू अहिले गम्भीर संकटमा परेका छन्।
एनडिएमएले अहिलेसम्म २२३ वटा उद्धार अभियान सञ्चालन गरिसकेको छ । जसअन्तर्गत २,८८० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। साथै, राहत वितरण अभियानमार्फत जनस्वास्थ्य किट, लाइफ ज्याकेट, पाल, पानी तान्ने पम्पलगायतका सामग्रीहरू उपलब्ध गराइएको छ। ७१ वटा अस्थायी शिविरहरूमा मेडिकल सेवा पनि उपलब्ध गराइएको छ।
पाकिस्तान मौसम विज्ञान विभागले अगस्ट ४ देखि ७ सम्म देशका विभिन्न भागमा अझै पनि भारी वर्षाको सम्भावना औंल्याएको छ। खैबर पख्तुनख्वा, पञ्जाब, इस्लामाबाद, गिल्गिट–बाल्टिस्तान र बलुचिस्तानका केही भागहरूमा भारी वर्षा र चट्याङ्गको जोखिम रहेको बताइएको छ।
पञ्जाब प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणका महानिर्देशक इरफान अली काठियाले अगस्ट ५ देखि सुरु हुने मनसुन वर्षाको छैटौँ चरणको चेतावनी दिएका छन्। चेनाब र झेलम नदीहरूमा जलस्तर बढ्ने सम्भावना छ, जसले लाहोर, मुरी, अटक, फैसलाबाद, डेरा गाजी खानलगायतका जिल्लामा जोखिम निम्त्याउन सक्छ।
डन पत्रिकाका अनुसार मुर्री र गल्लियात जस्ता पर्यटकीय क्षेत्रका कमजोर संरचना र माटोका घरहरूमा संरचनात्मक क्षति हुन सक्ने देखिएको छ।