काठमाडौं— बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेकामा ललितपुर महालक्ष्मी नगरपालिका–५ लुभु घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका–१ गागालफेदी बसोबास गर्ने ६० वर्षीय जनक राउत र सिन्धुपाल्चोक बलेफी गाउँपालिका–१ घर भई हाल भक्तपुर चुँनारायण नगरपालिका–७ कमलविनायक बस्ने ३५ वर्षीय गणेश तामाङ रहेका छन्।
उच्च अदालत पाटनले २०७५ असार २४ गते जनक र गणेशलाई बैंकिङ कसुर मुद्दामा २५ लाख रुपैयाँ जरिवाना र १–१ महिनाको कैद सजाय सुनाएको थियो। उक्त फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन भए पनि सर्वोच्च अदालतले २०८१ असार २४ गते उच्च अदालतको फैसला सदर गर्दै उनीहरूलाई दोषी ठहर गरेको थियो।
फैसालापछि फरार रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अलग–अलग स्थानबाट पक्राउ गरेको हो। जनक राउतलाई गोकर्णेश्वर नगरपालिका–१ स्थित वीपी चोकबाट पक्राउ गरिएको हो भने गणेश तामाङलाई भक्तपुर नगरपालिका–१० बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका जनक राउतलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ। यता, गणेश तामाङलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ।