काठमाडौँ –  दुई झाँक्रीको हत्यामा दोषी ठहर भएका २६ जनाको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ ।  सर्वोच्चका न्यायाधीशद्वय महेश शर्मा पौडेल र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा २६ जनाले दिएको पुनरावेदनमाथि सुनुवाइ सुरु भएको छ ।


धादिङको गङ्गा जमुना गाउँपालिका–२ लताबमा दुई झाँक्रीको हत्या गरेको आरोपमा धादिङ जिल्ला अदालतले २६ जनालाई जेल सजाय सुनाएको थियो । जिल्लाको फैसला उच्चले सदर गरिदिएपछि २६ जना सर्वोच्च पुगेका हुन् । 


त्यस्तै मोहन तामाङ समेतको जाहेरीले उच्च सरकारी वकिल कार्यालयले २६ जनालाई प्रतिवादी बनाउँदै कर्तव्य ज्यान मुद्दामा हदैसम्मको सजाय माग दाबी गर्दै २०७८ साउन २५ मा सर्वोच्च पुगेको थियो । 


गाउँमा झाँक्री लागेर गाउँवासीलाई दुःख दिएको आरोपमा वि‍.सं ०७५ साउन ५ गते गाउँलेहरुको कुटपिटका कारण गङ्गा जमुना गाउँपालिका–२ लताबका ४५ वर्षीय साइँला भन्ने प्लेक तामाङ र सोही स्थानका ६५ वर्षीय नरुङ तामाङको मृत्यु भएको थियो । सो हत्या अभियोगमा २६ जनाविरुद्ध कर्तव्य ज्यान कसुरमा धादिङ जिल्ला अदालतले दोषी ठहर गरेको थियो । धादिङ जिल्ला अदालतका न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले कर्तव्य ज्यान मुद्दामा प्रतिवादी बनाइएका ३० मध्ये चार जना महिलालाई भने सफाइ दिइएको छ ।


दुई झाँक्रीको कर्तव्य ज्यान मुद्दामा ३४ वर्षीय जितबहादुर तामाङ, ४९ वर्षीय भीमबहादुर तामाङ, ३६ वर्षीय मेमबहादुर तामाङ, ४४ वर्षीय टाडोङ तामाङ, २५ वर्षीय मङ्गले तामाङ, ३४ वर्षीय बमबहादुर तामाङ, २७ वर्षीय विशाल तामाङ, ३८ वर्षीय रामबहादुर तामाङ, अर्का ३६ वर्षीय रामबहादुर तामाङ, १८ वर्षीय अमित तामाङ र अर्का २३ वर्षीय विशाल तामाङलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) बमोजिम जन्म कैद गर्ने फैसला गरेको थियो ।


यसैगरी ३८ वर्षीय ज्ञानबहादुर भन्ने शङ्कर तामाङ, ३७ वर्षीय वीरबहादुर तामाङ, २६ वर्षीय शुकबहादुर तामाङ, १८ वर्षीय शुकराम तामाङ, २० वर्षीय सुनिल तामाङ, १८ वर्षीय मिनबादुर तामाङ, १८ वर्षीय अन्जन तामाङ, ३६ वर्षीय मनोज तामाङ, ३१ वर्षीय बेगबहादुर तामाङ, २२ वर्षीय सनम तामाङ र ५५ वर्षीय मनराम तामाङलाई जनही पाँच वर्ष छ महिना कैद गर्ने फैसला गरेको थियो ।


१७ वर्षीय वुद्धिलाल तामाङ, १७ वर्षीय निरज तामाङ, १७ वर्षीय चन्द्रमान तामाङ बालक भएकोले पाँच वर्ष कैद हुनेमा दुई तिहाइ अर्थात् तीन वर्ष आठ महिना कैद गर्ने फैसला गरेको थियो ।


५६ वर्षीय बलबहादुर तामाङलाई मतियारको रूपमा कटुवाल कराई झाँक्रीहरु मार्नका लागि सहयोग पुर्याएकाले तीन वर्ष छ महिना कैद गर्न जिल्ला अदालतले फैसला सुनाएको थियो ।  साधारण तारेखमा रहेका सुशीना तामाङ, असारमायाँ तामाङ, कैसाङ तामाङ र तारस्य तामाङलाई घटनामा निर्दोष रहेको भन्दै सफाइ दिएको थियो ।