काठमाडौं – बागमती नगरपालिकाका मेयर भरतकुमार थापाविरुद्धको गैरकानुनी सम्पत्ति आर्जन सम्बन्धी मुद्दामा सोमबार विशेष अदालतमा सुनुवाइ भइरहेको छ ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीश श्री मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासमा सुनुवाइ भइरहेको हो । मेयर थापाविरुद्धको मुद्दा गत असार १२ गतेदेखि ‘हेर्दाहेर्दैमा’ राखेर सुनुवाइ भइरहेको छ ।
गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा मेयर थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० चैत २७ मा ५ करोड ३३ लाख ५३ हजार १ सय ९० रुपैयाँ बिगो कायम गरेर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । थापाको बिगो कायम गरिएको रकम बराबरको धन घरजग्गा खरिद, कम्पनी स्थापना, सहकारीलगायतमा लगानी गरेको भेटिएको छ ।
थापा स्थानीय तहको २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा बागमतीको नगर प्रमुखमा निर्वाचित भएका थिए । थापा सार्वजनिक पदमा आएयता स्रोत नखुलेको रकमबाट बढे–बढाइएको चलअचल सम्पत्ति पनि जफत गर्न अख्तियारले मागदाबी लिएको छ । अख्तियारले थापाकी श्रीमती रेश्मीकुमारी घिमिरे (थापा), भाइ रामकुमार र भाइबुहारी द्वारिका राउतलाई समेत सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाएको थियो ।
नगर प्रमुख थापाले सार्वजनिक पदमा आएपछि गैरकानुनी सम्पत्ति परिवार र आफन्तमार्फत व्यवस्थापन गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ । थापा सर्लाहीको मानव निर्मित भरत तालका सञ्चालक पनि हुन् ।
सार्वजनिक पदको दुरुपयोग गरी थापाले परिवार र नातेदारका नाममा कम्पनी खडा गरेर भ्रष्टाचारको धन व्यवस्थापन गरेको, गैरकानुनी सम्पत्ति सहकारी र जग्गामा लगानी गरेकोलगायत विषयमा उनीविरुद्ध उजुरी परेको थियो । थापा नगर प्रमुख भएयता १३ करोड २० लाख ३ हजार ३ सय ९१ रुपैयाँ बराबरको चलअचल सम्पत्तिको कारोबार गरेको देखिएकोमा ७ करोड ८६ लाख ५० हजार २ सय १ रुपैयाँ बराबरको मात्रै स्रोत खुलेको हो । अख्तियारले स्रोत नखुलेको सम्पत्तिलाई नै बिगो कायम गरेको छ ।
थापा नगर प्रमुख रहेकै बेला २०७५ असार ३२ मा बुहारी द्वारिकाले मनोकामना बहुउद्देश्यीय सहकारीबाट २० लाख ९२ हजार ७ सय २४ रुपैयाँ ऋण लिएकी थिइन् । पछि उक्त सहकारीको ऋण तिरेको देखाइएको छ । तर त्यसको स्रोत भने खुलेको छैन ।
थापाले पनि सोही मितिमा १६ लाख १४ हजार ४ सय ७५ रुपैयाँ र आमा कृष्णमाया थापाले एक महिनापछि साउन ३२ मा १७ लाख ९ हजार ६ सय ८८ रुपैयाँ सहकारीमा ऋण तिरेको देखाइए पनि यसको समेत स्रोत खुलेको छैन । २०७५ साउन ३१ मै बुहारी द्वारिकाले पनि सोही सहकारीमा १७ लाख ९ हजार ६ सय ८८ रुपैयाँ ऋण तिरेको देखाइए पनि स्रोत खुलेको छैन ।
२०७७ असोज ६ मा थापाका भाइ रामकुमारले रौतहटको जुडिबेलामा सरकारी न्यूनतम मूल्य कायम गरी ५२ लाख २५ हजारमा १० कट्ठा जमिन खरिद गरेकोमा यसको स्रोत कतैबाट नखुलेको अख्तियारको अनुसन्धानले देखाएको छ ।
नगर प्रमुख थापा र उनकी श्रीमती, आमा, भाइ–बुहारी लगायतमार्फत भएका १० वटा कारोबारको रकममध्ये आंशिक स्रोत नखुलेको रकम १ करोड ७५ लाख ८४ हजार ५ सय ५७ रुपैयाँ देखिन्छ । यसरी शतप्रतिशत १४ र आंशिक १० वटा लेनदेन–कारोबारबाट स्रोत नखुलेको कुल सम्पत्ति ५ करोड ३३ लाख ५३ हजार १ सय ९० रुपैयाँ बराबर हुन आउँछ ।