दाङ— मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका–७ की ६५ वर्षीया गौमती रोका शनिबार दिउँसो साढे २ बजे तुलसीपुर–१९ बाँसगडीस्थित कुटिचौरबाट बिजौरीतर्फ जाँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी थिइन्।

घटनापछि उनलाई तत्काल राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा उपचारका लागि भर्ना गरिएको थियो। तर, अवस्था गम्भीर भएपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर रिफर गरिएको थियो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार उपचारका क्रममा आइतबार कोहलपुरमा रोकाको मृत्यु भएको हो। उनको शव पोस्टमार्टमका लागि भेरी अस्पताल, नेपालगञ्ज पठाइएको छ।

दुर्घटनामा मोटरसाइकल चालक तुलसीपुर–७ का १६ वर्षीय लक्ष्मण भुसाल र पछाडि सवार १४ वर्षीय रोहित खनाल पनि घाइते भएका छन्। चालक भुसाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।