सुनसरी— धरान उपमहानगरपालिका–१५ स्थित क्षेत्रबाट लागूऔषध र नियन्त्रित औषधीसहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धरान–१५ का ३६ वर्षीय हेम बहादुर तामाङ र धनकुटा घर भई धरान–२६ बसोबास गर्दै आएका २८ वर्षीय मिलन थापा रहेका छन्।
इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोस्ट बरगाछीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा हिजो साँझ ८ः३० बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार तामाङ र थापाको साथबाट लागूऔषध ट्रामोल २,९१० क्याप्सुल र नियन्त्रित औषधि डिकोलिन २,९५० ट्याब्लेट बरामद गरिएको छ।
हाल उनीहरूविरुद्ध इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।