विराटनगर— कोशी प्रदेशको मनमोहन प्राविधिक विश्वविद्यालयले प्रत्येक शनिबार ‘क्लिनिङ’ र ‘ब्युटिफिकेसन’ कार्यक्रम अन्तर्गत सामूहिक श्रमदानमार्फत विश्वविद्यालय सरसफाई र सौंदर्यीकरणको अभ्यासलाई संस्थागत बनाउन थालेको छ।
बिदाको दिन भनेर थन्किने परम्परालाई तोड्दै विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक, कर्मचारी र विद्यार्थीहरू हरेक शनिबार बिहान हातमा हँसिया, फरुवा, कुटो, खन्ती र दाँते लिएर तोकिएको स्थानमा पुग्ने गर्छन्। उनीहरू उपकुलपति, रजिष्ट्रार, डिन, परीक्षा नियन्त्रक, विभागीय प्रमुखदेखि सामान्य कर्मचारी र विद्यार्थीहरूसम्म सहभागी हुने सामूहिक श्रमदानमा जुट्छन्।
प्रशासन प्रमुख सारदा सुवेदीका अनुसार श्रमदानका लागि प्रत्येक शुक्रबार उपकुलपति डा। सुवासश्री पोखरेलबाट स्वीकृति लिएर सूचना ‘वाट्सएप’मार्फत सम्बन्धित सबैलाई पठाइन्छ। त्यसअनुसार भोलिपल्ट शनिबार बिहानै श्रमदान गरिन्छ।
“प्राविधिक विश्वविद्यालय भनेर होइन, गरेर देखाउने संस्था हो,” उपकुलपति डा। पोखरेल भन्छन्, “आफ्नो काम आफैँ गर्ने सोचका साथ हामीले यो अभ्यास सुरु गरेका हौं।”
श्रमदान कार्यक्रम विश्वविद्यालयको बुढीगंगा–४ स्थित केन्द्रीय कार्यालय, स्कुल अफ इन्जिनियरिङ, स्कुल अफ एप्लाइड साइन्स एन्ड टेक्नोलोजी, कर्मचारी निवास र छात्रावास क्षेत्र वरपर सञ्चालन गरिन्छ। सरसफाईका साथै वृक्षारोपण र फूलबारीको गोडमेल गरी सौंदर्यीकरण पनि गरिन्छ।
स्कुल अफ इन्जिनियरिङका प्रशासन अधिकृत महेश राई भन्छन्, “सामूहिक श्रमदानले शरीर सक्रिय हुन्छ, सहयोगी भावना विकास हुन्छ र विश्वविद्यालयप्रतिको माया अझै बढ्छ।”
विश्वविद्यालयले श्रमदानका लागि आवश्यक सामग्री, बिरुवा तथा नास्ताको व्यवस्था गर्दछ। वरिष्ठ लेखा अधिकृत सुजन भुर्तेल भन्छन्, “आफ्नो कार्यस्थल र बासस्थान सफा गर्दा त्यसप्रति अपनत्वको भावना अझै प्रगाढ हुन्छ।”
साप्ताहिक रूपमा सञ्चालन हुँदै आएको यस अभियानले विश्वविद्यालय समुदायमा स्वच्छता, सहभागिता र उत्तरदायित्वको संस्कार विस्तार गरेको विश्वविद्यालय प्रशासनको विश्वास छ।