सिरहा— जिल्लाको औरही गाउँपालिका–४ कमलपुरबाट ठूलो परिमाणमा लागूऔषध गाँजासहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार बिहान ४ बजेको समयमा विशेष सूचनाका आधारमा प्रहरीले छापा मारी उनीहरूलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक अनन्तराम शर्माले पक्राउ पर्नेमा पाँच जना भरिया, एक जना रेक्की गर्ने व्यक्ति, गाँजा साहु तथा खरिद गर्न आएका दुईजना भारतीय नागरिक रहेको बताए ।
भरियामा गोलबजार नगरपालिका–१ मक्सारका ४२ वर्षीय जयराम जोशी, ३० वर्षीय शिवकुमार सदा, २२ वर्षीय कृष्ण सदा, १८ वर्षीय सुरज सदा र १७ वर्षीय पशुपति सदा रहेका छन् । रेक्की गर्ने व्यक्ति औरही गाउँपालिका–३ का ४२ वर्षीय राजेन्द्र यादव र साहु गोलबजार नगरपालिका–१ मक्सारकै ३२ वर्षीय जीवछ साह रहेका छन् ।
यस्तै खरिद गर्न आएका भारतीय नागरिक मधुवनी जिल्ला, कुमरखद ग्राम पञ्चायत–१४ का ३० वर्षीय धर्मेशकुमार कामति र ३९ वर्षीय वैधनाथ चौधरी रहेका छन् । चौधरीको साथबाट नेपाली रुपैयाँ ४५ हजार पनि बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरी उपरीक्षक शर्माका अनुसार गाँजा पाँचवटा बोरामा हालेर आँपको बगैँचामा लुकाइ राखिएको थियो । प्रारम्भमा गाँजा ओसार्दै गरेका भरिया फेला परेपछि उनीहरूलाई केरकार गर्दै जाँदा बाँकी समूह गाँजासहित फेला परेको हो । पक्राउ परेका विरुद्ध लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।