धादिङ— धादिङको गल्छी गाउँपालिकाले मकैको खोया खरिद गर्ने निर्णय गरेपछि त्यसको मूल्यलाई लिएर स्थानीयबासीबीच असन्तुष्टि उत्पन्न भएको छ । पालिकाले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै मकैको खोया प्रतिकेजी ५ रुपैयाँमा बिक्री गर्न कृषक तथा सर्वसाधारणलाई आह्वान गरेको हो।

सूचना अनुसार भक्तपुरको चाँगुनारायण नगरपालिका–३ मा रहेको ‘बिनिसा एन्ड भावेश मसरुम उद्योग’ ले खोया खरिद गर्न लागेको हो। गल्छी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि पौडेलले साउन १५ गते जारी गरेको सूचनामा खोया राम्रोसँग सुकाइएको हुनुपर्ने, पानीमा भिजेको नहुनुपर्ने र प्रतिकिलो ५ रुपैयाँमा खरिद गरिने उल्लेख गरिएको छ। संकलन तथा भण्डारणमा सहयोग गर्ने कृषक समूह, सहकारी वा व्यक्तिलाई प्रतिकिलो १ रुपैयाँ अतिरिक्त दिइने र एक टिप संकलनपछि कम्पनीले भुक्तानीसहित ढुवानी गर्ने व्यवस्था मिलाइने बताइएको छ।

तर, स्थानीयवासीले भने पालिकाले तोकेको मूल्य व्यवहारिक नभएको भन्दै आक्रोश पोखेका छन्। गल्छी–७ का उत्तम धितालले पालिकाले कम्तीमा १ सय किलो खोया किन्ने ग्यारेन्टी गर्नुपर्ने बताएका छन्। गल्छी–६ का रामचन्द्र अधिकारीले भने, “५ रुपैयाँ किलोमा खोया बेचेर १० रुपैयाँ किलोको दाउरा किन्ने त होला?”, भन्दै पालिकाको योजनाप्रति प्रश्न उठाएका छन्।

गाउँपालिकाको आधिकारिक फेसबुक पेजमा पोस्ट गरिएको सूचनामा साउन १६ गते बिहान ६ः२८ बजेसम्म ५५ जना प्रयोगकर्ताले प्रतिक्रिया जनाएका छन्। अधिकांशले मूल्य अत्यन्तै न्यून र योजना अव्यवहारिक भएको टिप्पणी गरेका छन्।

कसैकसैले भने खोया बेच्नेभन्दा पनि स्थानीयस्तरमै खोयाबाट च्याउ उत्पादन गर्ने कार्यक्रम ल्याउन सुझाव दिएका छन्। “५ रुपैयाँ किलोमा खोया बेचेर ३०० रुपैयाँ किलोको च्याउ किनेर खाने योजना राम्रो होइन,” भन्दै स्थानीयले आक्रोश जनाएका छन्।

यसअघि नुवाकोटको पञ्चकन्या गाउँपालिका र विदुर नगरपालिकाले पनि यस्तैगरी मकैको खोया खरिदको सूचना सार्वजनिक गरेका थिए।khoya-kinne-suchana