राजविराज— झण्डै ६५ वर्षदेखि ब्लक र बिटौरी क्षेत्रमा बसोबास गर्दै आएका पाँच हजारभन्दा बढी पीडित परिवारले लालपूर्जा माग गर्दै आन्दोलन चर्काउने भएका छन्।
राजविराज नगरवासी पीडित संघर्ष समितिले बिहीबार बृहत् बैठक गरी नगरपालिका र प्रशासनले सहमति कार्यान्वयन नगरेको भन्दै पुनः आन्दोलनको घोषणा गरेको हो। बैठकमा संयोजक इरसाद अन्सारी, वार्ता टोली सदस्य दिपेन्द्र चौधरी, जिल्ला समन्वय समिति प्रमुख शिवनारायण साह, उद्योग वाणिज्य संघ अध्यक्ष लालुप्रसाद अग्रवाललगायतको सहभागिता थियो।
यसअघि भएको सहमतिअनुसार १५ दिनभित्र समस्या समाधान गर्ने भनिए पनि कार्यान्वयन हुन नसकेपछि बाध्य भएर आन्दोलनमा जान लागेको संघर्ष समितिले जनाएको छ ।
उद्योग वाणिज्य संघले आन्दोलन व्यवस्थापनका लागि ५१ हजार रुपैयाँ सहयोग गरेको छ भने दुई उपसमिति पनि गठन गरिएको छ। आन्दोलन परिचालन उपसमितिको संयोजक चौधरी र आर्थिक संकलन उपसमितिको संयोजक विन्देश्वर प्रसाद साह “बिन्दी” रहेका छन्।
संघ अध्यक्ष अग्रवालले लालपूर्जा अभावका कारण उद्योग व्यवसाय चौपट हुँदै गएको बताए। “बैंकमा धितो राख्न नपाएको र व्यापार विस्तार गर्न नसकिएकोले आत्महत्या र पलायनसमेत भएको गुनासो गरे।
संघर्ष समितिले अबको आन्दोलन फरक ढंगले सशक्तरूपमा हुने बताउँदै दुई–तीन दिनभित्र कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ। स्थानीयबासीले निर्वाचनका बेला एजेण्डा बनाइने समस्यालाई निर्वाचनपछि बेवास्ता गरिने गरेको गुनासो गरेका छन्।