काठमाडौं— जलवायु परिवर्तन न्यूनीकरण तथा विस्थापित समुदायको जीवनस्तर सुधारका लागि बहुउपयोगी बाँसको उत्पादन, प्रयोग र व्यवस्थापनसम्बन्धी स्पष्ट नीति तथा कानुन निर्माणको माग गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, खोटाङका मेयर तिर्थराज भट्टराई विगत चार दिनदेखि आमरण अनशनमा छन्।
लगातारको अनशनका कारण उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि आज उनलाई काठमाडौंस्थित वीर अस्पतालमा भर्ना गरिएको छ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले आज अस्पताल पुगेर मेयर भट्टराईको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। त्यसैगरी, राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधिहरूले समेत अस्पतालमा पुगेर उनको अवस्थाबारे बुझ्दै सरकारलाई उनको जीवन रक्षाका लागि आवश्यक कदम चाल्न आग्रह गरेका छन्।
यद्यपि, मेयर भट्टराईले अस्पतालमा उपचार गर्न अस्वीकार गर्दै पुनः माइतीघर मण्डलास्थित अनशन स्थलमै फर्कने अडान लिएका छन्। तर हालसम्म सरकार पक्षबाट उनको माग सुनुवाइ गर्ने कुनै ठोस पहल नदेखिएकोले स्थिति झनै जटिल बन्दै गएको छ।
मेयर भट्टराईले जलवायु संकट र सामाजिक अन्याय विरुद्ध बाँसलाई समाधानको रूपमा अघि सार्दै यस विषयमा नीतिगत पहलकदमीको माग गर्दै आएका छन्। उनका समर्थकहरू र विभिन्न सरोकारवाला निकायले पनि सरकारलाई यथाशक्य चाँडो संवाद थाल्न आग्रह गरेका छन्।