काठमाडौं— काठमाडौं महानगरपालिका–३२ स्थित छाप्रोमा ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकलमा सवार युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेको रोशी गाउँपालिका–३ घर भएर कोटेश्वर बस्ने २५ वर्षीय नवराज तुमसिंह मगर रहेका छन् ।
बुधवार राति पौने ९ बजेतिर जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरेको बा.प्र–०१–००४ ख ३२८७ नम्बरको पानी ट्यांकरले विपरीत दिशातर्फ जाँदै गरेको बा.प्र–०२–०३३ प २५४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
मोटरसाइकलमा पछाडि सवार युवकको उपचारको क्रममा केएमसी अस्पतालमा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले बताए ।
मोटरसाइकल चालक काभ्रेको रोशी घर भएका २६ वर्षीय सन्तोष मगर घाइते छन् । ट्याङ्कर चालक धादिङ घर भएका ४७ वर्षीय रामबहादुर थापालाई प्रहरी प्रभाग कोटेश्वरले नियन्त्रणमा लिएको छ।