मोरङ— मोरङको केरावारी गाउँपालिका–७ स्थित मुगु मेडिकलका सञ्चालक प्रतिबन्धित लागू औषधीसहित पक्राउ परेका छन्। पक्राउ परेका व्यक्ति बेलबारी नगरपालिका–८ का २८ वर्षीय मनिष कुँवर हुन्।
साउन १३ गते बिहान विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय केरावारी र लागू औषध नियन्त्रण ब्युरो, विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले मेडिकलमा छापा मारेर ठूलो मात्रामा लागू औषधी बरामद गरेको हो।
प्रहरीका अनुसार मेडिकलको भित्री भागमा लुकाइछिपाई राखिएको अवस्थामा ४ हजार ५ सय ट्याब्लेट डिकोलिक र ४ हजार ५ सय ट्याब्लेट ट्रामाडोल फेला पारिएको छ। यी दुबै औषधीहरू बिना चिकित्सकको प्रेसक्रिप्सन बिक्री–वितरण गर्न कानुनी रूपमा प्रतिबन्धित छन्।
सञ्चालक कुँवरलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।
प्रहरीले गैरकानुनी रूपमा लागू औषधीको कारोबारमा संलग्नहरूलाई नियन्त्रणमा लिन अभियान तीव्र बनाएको जनाएको छ।