काठमाडौं— तीजको माहोल नजिकिँदै गर्दा गायक तथा सर्जक मोतिराज खनालको नयाँ तीज गीत ‘छड्के कपाल किन कोरेको’ सांगीतिक बजारमा चर्चाको केन्द्रमा रहेको छ। मौलिक लय, परम्परागत भाकाको संरक्षण र नारी सशक्तिकरणको सन्देश बोकेको यस गीतले छोटो समयमै दर्शक–श्रोताको मन जित्न सफल भएको छ।

दुई दशकभन्दा बढी समयदेखि नेपाली सांगीतिक क्षेत्रमा क्रियाशील खनालले सामाजिक यथार्थ झल्काउने उद्देश्यले गीत तयार पारेका हुन्। पछिल्लो समय बजारमा फैलिएको छाडा र उत्ताउला गीत–संगीतप्रति असन्तुष्टि जनाउँदै खनालले यसपटक मौलिक स्वादका साथ सन्देशमूलक सिर्जना ल्याएका छन्।

गीतमा गायक मोतिराज खनाल र गायिका राधिका हमालको मुख्य स्वर रहेको छ भने दिपेश बिष्ट, कृष्ण खत्री, रश्मि भुजेल र कल्पना मल्लको सहायक स्वरले गीतलाई अझ सशक्त बनाएको छ। गीतका शब्द, संगीत र स्वर खनालकै हुन् भने संगीत संयोजन रमेश सेन्चुरीले गरेका छन्। रेकर्डिङ तथा मिक्सिङ कृष्ण बाजुरालीले ‘द म्युजिक इरा स्टुडियो’मा गरेका हुन्।

भिडियोलाई सुरज खनालले निर्देशन गरेका छन्। शिवजी क्षेत्रीको कोरियोग्राफी, सुशील डाँगीको छायांकन, सम्पादन तथा रङ संयोजनले भिडियोमा थप आकर्षण भएको छ। भिडियोमा कृष्ण खत्री र रिना गुरुङको प्रमुख अभिनय रहेको छ। उनीहरूसँगै गीता खनाल, अस्मिता खनाल र कृष्टिना शाहको समेत सशक्त उपस्थिति रहेको छ।

भिडियो ललितपुरस्थित युएन पार्कमा छायाङ्कन गरिएको हो। मेकअप जीवन पासाले गरेका छन् भने आइटी सपोर्ट विशाल राईले र पोस्ट–प्रोडक्सन कार्य शिवजी डान्स सेन्टरले सम्हालेको हो।

गीतको औपचारिक विमोचन रिपोर्टर्स क्लब नेपाल, भृकुटीमण्डपमा आयोजित विशेष समारोहमार्फत गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि सांसद बिजुला रायमाझी रहेकी छन् । साथै, लक्ष्मण रायमाझी, ऋषिराम भुसाल र धनेन्द्र बस्नेत अतिथिका रूपमा सहभागी थिए। कलाकारहरूलाई प्रशंसा–पत्र प्रदान गरिएको सो कार्यक्रममा सन्सा फिल्म्सका अध्यक्ष सुरज खनालको अध्यक्षता थियो भने सञ्चालन सबिन खड्काले गरेका थिए।

गायक खनालले तीज गीतमार्फत नेपाली संस्कृतिको मौलिकता जोगाउने प्रयास गरेको बताउँदै ग्रामीण भेगका दिदीबहिनीहरूको भावना समेट्ने उद्देश्य रहेको जानकारी दिएका छन्।

सामाजिक सञ्जाल युट्युब, फेसबुक र टिकटकमा गीत छोटो समयमै भाइरल बन्दै गएको छ। विशेषगरी महिला दिदीबहिनीहरू र युवापुस्ताबाट अत्यधिक सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ। 

भिडियोको लागि यो https://www.youtube.com/watch?v=V0HxxB_V8Qg&t=152s लिंकमा क्लिक गर्नु होला